१७ मंसिर, काठमाडौं । आईतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको २४ स्थानको मतमणना सम्पन्न भएको छ । जसमा नेपाली कांग्रेस १३, नेकपा एमाले ५, माओवादी ४, जनता समाजवादी पार्टी नेपाल २ र एकीकृत समाजवादी पार्टीका एक जना वडाध्यक्ष निर्वाचित भएका छन् ।
कांग्रेसले निर्वाचन आयोगका अनुसार हेटौँडा उपमहानगरपालिका–१२ मा अर्जुन प्रसाद तिवारी, भीमदत्त नगरपालिका–६ मा प्रकाश चन्द, ठाकुरबाबा नगरपालिका–४ मा अमिन थारु निर्वाचित भएका छन् ।
यसैगरी गढी गाउँपालिका–६ मा तेतर साहु, राजपुर नगरपालिका–६ मा समसे आलम, रुन्टीगढी गाउँपालिका–४ मा भुपमणि पुन मगर, ईशनाथ नगरपालिका–७ मा शेख अब्दुल खलिक निर्वाचित भएका छन् ।
यसैगरी सानीभेरी गाउँपालिका ५ मा मोतीराम खत्री, कीर्तिपुर नगरपालिका १ मा इच्छा कुमार महर्जन, पूर्वीचौधी गाउँपालिका ६ मा मोहन थापा, लालीगुराँस नगरपालिका ८ मा नगेन्द्र लिम्बु, दुहुँ गाउँपालिका ५ मा धनसिंह कुँवर र कुशे गाउँपालिका ७ मा खम्ब बहादुर सिंह निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
एमालेले हालसम्म ५ स्थानमा विजय हासिल गरेको छ । निर्वाचन आयोगका अनुसार एमालेले शुद्धोधन गाउँपालिका–१ मा विजय हासिल गरेको छ । त्यहाँ मोहमद ताहिर मुसलमान विजयी भएका हुन्
यसैगरी रामगोपालपुर नगरपालिका २ मा सकिवुल खाँ, दुल्लु नगरपालिकामा १३ मा लालबहादुर शाही, मोलुङ गाउँपालिका ५ मा गंगाबहादुर तामाङ र सिरीजंगा गाउँपालिका ३ मा कुमारी सावादेन विजयी भएको आयोगले जनाएको छ ।
माओवादीले त्रियुगा नगरपालिका १५, धनुषाधाम नगरपालिका १, गोरखा नगरपालिका ५ र ककनी गाउँपालिका २ मा विजय हासिल गरेको हो । ती स्थानीय तहका वडामा क्रमशः नवीन कुमार वान्तवा राई, सुनिल कापर केवट, विष्णु बहादुर मगर र कृष्ण घिमिरे निर्वाचित भएको आयोगले जनाएको छ ।
जसपा नेपालका उम्मेदवारले डाक्नेश्वरी नगरपालिका १ र डाक्नेश्वरी नगरपालिका ४ मा जित हासिल गरेका हुन् । त्यहाँ क्रमशः धिरेन्द्र कुमार साह र देवेन्द्र प्रसाद यादवले विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ । एकीकृत समाजवादीका बजरंगीप्रसाद यादव गढीमाई नगरपालिका ८ को वडा अध्यक्ष पदमा विजयी भएका छन् ।