१८ मंसिर, कलैया । नेपाल सरकारको कार्यवाहक प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले विश्व प्रसिद्ध गढीमाई मेलाको अवलोकन गरेका छन् ।
मंगलबार दिउसो १२ बजे कार्यबाहक प्रधानमन्त्री तथा शहरी बिकाश मन्त्री सिंह बाराको महागढीमाई नगरपालिकाको बरियारपुर पुगेर गढीमाई दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन निरीक्षण समेत गरेका हुन् । प्रत्येक पाँच पाँच बर्षमा लाग्ने विश्व प्रसिद्ध गढीमाई मेला मंसिर १ गतेदेखि सुरु भएको छ ।
मूल पूजा सोमबार उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गरेसँगै सुरु भएको छ । विश्व प्रसिद्ध गढीमाई मेला दर्शन तथा अवलोकन गर्न पुगेका मन्त्री प्रकाशमान सिंहले गढीमाई मेलाले बिश्वमै नेपालको एउटा ठूलो पहिचान बनाएको बताए । उनले गढीमाई दर्शन गरेमा मनोकामना पूरा हुने भएकोले आफूले दर्शन गर्न पाउँदा निकै खुशी महशुस गरेको बताए ।
गढीमाई मन्दिर मधेश प्रदेशको मात्र अस्था नभएर यो पुरै नेपालको ठूलो धार्मिक स्थल रहेको र गढीमाई मन्दिरले नेपालको विश्व सामु एउटै बेग्लै पहिचान बनाएको मन्त्री सिंहले बताए ।
गढीमाई मेलाको अवलोकन तथा निरिक्षण गर्न आएका कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई गढीमाई मेला मूल ब्यवस्थापन समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र प्रसाद यादवले मेलाको ब्यवस्थापन र आवश्यक समाग्रीबारे मन्त्रीलाई जानकारी गराए ।
नगरप्रमुख यादवले गढीमाई मेलालाई भब्य र सभ्य बनाउनको लागि केन्द्रदेखि लिएर प्रदेशका मन्त्रीहरुले आएर अवलोकन तथा निरीक्षण गर्नु बारावासीको लागि गर्वको कुरा रहेको बताए ।