२७ पुष, वीरगञ्ज । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा जारी जय ट्रफी मेन्स एलिट कप अन्तर्गत शनिबार दुई खेल सुरू हुँदै छन् ।
प्रतियोगिताअन्तर्गत पाँचौं खेलमा मधेश प्रदेश र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ । वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा साढे ९ बजेदेखि खेल सुरू हुने तय छ । त्यसैगरी छैटौं खेलमा नेपाल पुलिस क्लब र बागमती प्रदेश खेल्नेछन् । जनकपुरमा उक्त खेल पनि साढे ९ बजे सुरू हुने तालिका छ ।
यसअघि भएको खेलमा पुलिसले एक जित र एक ड्रको नतिजा निकाल्दा र आर्मी र बागमतीले आफ्ना दुवै खेलमा ड्र खेलेका छन् भने मधेशले एक खेल ड्र गर्दा एक खेल हारेको छ । पुलिस ४० अंकसहित अंकतालिकाको शीर्षस्थानमा रहेर फाइनल खेल्ने बलियो अवस्थामा छ ।
आर्मी दोस्रो, बागमती तेस्रो र मधेश चौथो स्थानमा छन् । यी खेलको नतिजापछि फाइनल खेल्ने टोलीको टुङ्गो लाग्ने छ । शीर्ष दुई टोलीले मंगलबारदेखि हुने तीन दिवसीय फाइनल खेल्ने छन् ।