२७ पुष,वीरगञ्ज । जिल्ला बचत तथा सहकारी संघ पर्साको नयाँ नेतृत्वका लागि निर्वाचन प्रकृया शुरु भएको छ । नयाँ नेतृत्वका लागि हुने निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ता तथा उम्मेदवारी मनोनयन फिर्ता भई अन्तिम नामावली प्रकाशित भएको छ ।
११ जना कार्यसमिति र ३ जना लेखा समिति गरी १४ पदका लागि हुने निर्वाचनका लागि २८ जनाको उम्मेदवारी परेको छ । नयाँ नेतृत्वका लागि अहिलेसम्म अध्यक्षमा हरेराम पटेल र राकेश यादवको उमेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा जिष्णु बराल र राजेन्द्र प्रसाद जैसवाल, उपाध्यक्षमा डिल्ली विक्रम कार्की र नगनारायण सिंह, महासचिवमा राजिव कुमार साह सोनार र सालिकराम प्रसादको उम्मेदवारी परेको छ ।
त्यस्तै सचिवमा फिरोज अंसारी र नरेश कुमार चौरसिया, कोषाध्यक्षमा अजय कुमार साह र अरुण कुमार साहले उम्मेदवारी दिनुभएको छ । सदस्यहरुमा ११ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिएकाहरु मध्ये तीन जना उम्मदवारहरुले आफ्नो नाम फिर्ता लिएका छन् ।
उपाध्यक्षका उम्मेदवार राकेश कुमार राय र सञ्चालक समिति सदस्य उम्मेदवार श्यामसुन्दर साह कानु र सुनिल यादवले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार साँझ ७ बजेदेखि मतदान शुरु हुनेछ ।