
७ माघ, वीरगञ्ज । भारतमा भएको खो खो विश्व कपमा नेपाली पुरुष टोली र महिला टोली दुवै उपविजेता बनेको छ ।
दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा आइतवार आयोजक भारतसँग ५४–३६ ले पराजित हुँदै नेपाली पुरुष टोली उप विजेता बनेको हो । समूह चरणमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो ।
नेपालले सेमिफाइनलमा शनिवार इरानलाई ७२–२० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको हो। शुक्रवार भएको सेमिफाइनलमा बंगालादेशलाई ६७– १८ ले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो । नेपाल समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको थियो।
समूह ‘ए’मा नेपालले ४ खेलबाट ६ अंक जोडेको थियो । नेपाल भारतसँगको आफ्नो खेलमा ४१–३७ पराजित भएको थियो । त्यसपछि नेपालले ब्राजिललाई १३४– ८ र पेरुलाई ८०–३४ लाई र भुटानलाई ९८–८ ले हराएको थियो ।
नेपाली महिला टोली
खो खो विश्वकपको महिलातर्फको फाइनलमा नेपाल घरेलु टोली भारतसँग फराकिलो अन्तरले पराजित हुँदै उपविजेतामा सिमित भएको छ । नेपाल फाइनलमा ७८–४० अन्तरले पराजित भएको हो ।
घरेलु टोलीले पहिलो टर्नदेखि नै दबाब कायम गरेको थियो । पहिलो टर्नमा आक्रमण गर्दै ३२ अंक जोडेको भारतले दोस्रो टर्नमा नेपाललाई २४ अंक मात्र जोड्न दियो । भारतले डिफेन्समा १ अंक पनि थप्यो । त्यसपछि तेस्रो टर्नमा ४० अंक जोड्दै भारत बलियो स्थितिमा पुग्यो । अन्तिम टर्नमा नेपालले १६ अंक मात्र जोड्दा भारतले ड्रिम रनमा ५ अंक थपेको थियो ।
युगाण्डालाई शनिवार ८९–१८ ले हराउँदै नेपाली टोली अन्तिम दुईमा पुगेको हो । इरानलाई शुक्रवार १०३–८ को फराकिलो अन्तरले हराँउदै नेपाल सेमिफाइनल पुगेको थियो । नेपाली टोली समूह चरणमा अपराजित रहँदै अघि बढेको थियो। नेपाली महिला टोली समूह ‘सी’ को विजेताका बनेको थियो ।
नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४, दोस्रो खेलमा जर्मनीलाई ७३–३४, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बंगालादेशलाई ८४–२४ ले हराएको थियो । विश्व कपमा महिलामा १९ र पुरुषमा २० देशको सहभागिता थियो।