Logo

१० माघ,काठमाडौँ । रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको बहस सुरु भएको छ ।

कार्यालय सुरु भएसँगै लामिछाने उपस्थित भएपछि अदालतमा बहस सुरु भएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।

बुधबार बयान मात्रै सकिएर थुनछेक बहस नभएपछि उनलाई परिवार र वकिलको जिम्मा जमानीमा छाडिएको थियो । सोही अनुसार लामिछाने बिहीबार अदालतमा उपस्थित भएका हुन् । उनको मुद्दा जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा रहेको छ ।

पक्ष–विपक्षका वकिलहरूले बहस गरेपछि आदेश आउने छ । बहस आजै सकिने वा नसकिने भन्न नसकिने श्रेस्तेदार ज्ञवालीको भनाइ छ ।

लामिछानेसहित २२ जनाविरुद्ध ६ माघमा पूरक अभियोजन दर्ता भएको थियो । उनीहरूलाई ठगी र संगठित अपराध कसुरको मुद्दा लगाइएको छ ।

सुप्रिम सहकारीमा जम्मा ४२ जना प्रतिवादी भएका छन् । पूरक अभियोजनामा १४ जना प्रतिवादी बनेका छन् । २ करोड रुपैयाँ रवि लामिछानेको नाममा गएको उल्लेख भौचर समेत बरामद भएको थियो । यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा भएको खुलेको थियो ।

यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यतिबेला एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।


सम्बन्धित समाचार
भर्खरै