२३ माघ, काठमाडौँ । भारतको नयाँ दिल्लीमा विधानसभा चुनावको मतदान जारी छ । दिल्लीमा रहेका ७० वटै विधानसभा सिटका लागि आज मतदान भइरहेको हो ।
७० सिटका लागि ६ सय ९९ जना उम्मेदवार रहेका र यी मध्ये ९६ जना महिला रहेका भारतीय निर्वाचन आयोगलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मतदानका लागि १३ हजार ७ सय ६६ मतदान केन्द्र निर्धारण गरिएको छ । एक करोड ५६ लाख मतदाता रहेका छन् । दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । ३० हजारभन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् ।
यस पटकको चुनावमा आम आदमी पार्टीका नेता अरविन्द केजरीवाल, मुख्यमन्त्री आतिशी, आपका नेता मनिस सिसोडिया र भारतीय जनता पार्टीबाट उम्मेदवार भएका परवेश वर्मा र कंग्रेस उम्मेदवार भएका सन्दीप दीक्षित मुख्य प्रतिस्पर्धीका रूपमा देखिनुभएको छ । मतदानको नतिजा आउँदो शनिवार सार्वजनिक गर्ने तयारी छ ।