Logo

७ फागुन,वीरगञ्ज । भारतको ओडिशा राज्यस्थित किट विश्वविद्यालयमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालका लागि न्याय माग्दै वीरगञ्जमा प्रदर्शन गरेका छन् । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) का विद्यार्थीहरूले लम्सालको घटनामा निष्पक्ष छानबिनको माग गर्दै आज वीरगन्ज स्थित भारतीय महावाणिज्यदूतावास अगाडि प्रदर्शन गरेका हुन् ।

अखिल क्रान्तिकारी पर्साका अध्यक्ष कविराज पटेलको नेतृत्वमा विद्यार्थीहरूले वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास अगाडि प्रकृति लम्साललाई न्याय दे”, “दोषीलाई कारबाही गर”, “किट विश्वविद्यालयका अधिकारीहरूलाई कारबाही गर”, “नेपाली विद्यार्थीहरूको सुरक्षा ग्यारेन्टी गर” लगायतका नारा सहित प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा अखिल क्रान्तिकारीका केन्द्रीय सचिव मिरोज अहमद, अखिल क्रान्तिकारीका पूर्व प्रदेश सचिव विवेक कुमार साह, अखिल क्रानितकारीका ठाकुरराम इकाइ अध्यक्ष अनिश पटेल लगायत अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।

ओडिशास्थित किट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साल रहस्यमय परिस्थितिमा मृत भेटिएकी थिइन् । घटनाले नेपालका विद्यार्थी तथा परिवारजनमा गहिरो चिन्ता र आक्रोश उत्पन्न गराएको छ । प्रदर्शनकारीहरूले भारतीय अधिकारीहरूलाई घटनाको निष्पक्ष छानबिन गर्न र दोषीलाई कारबाही गर्न दबाब दिएका छन् ।

 


सम्बन्धित समाचार