
९ फागुन,ढल्केबर । जनकपुरधामस्थित किशोर फाउन्डेसन सुधार केन्द्रमा एक युवकको मृत्यु भएको छ । गणेशमान चारनाथ नगरपालिका–१०, डुमरियाका २० वर्षीय राजकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुधार केन्द्रका व्यवस्थापक सञ्जिव शर्माका अनुसार यादवको घाँटीमा कफ जम्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार बिहान समर अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले सामान्य अवस्था रहेको भन्दै निगरानीमा राख्न सल्लाह दिए पनि साँझ अचानक अवस्था बिग्रिएपछि उहाँलाई प्रादेशिक अस्पताल पु¥याइएको थियो । अस्पताल पुगेपछि चिकित्सकले यादवलाई मृत घोषित गरेको उनले बताए ।
तर प्रादेशिक अस्पतालका आकस्मिक कक्ष प्रमुख शरद यादवले अस्पताल ल्याउनुअघि नै यादवको मृत्यु भइसकेको बताए । यादव पछिल्लो दुई महिनादेखि सुधार केन्द्रमा बस्दै आउनुभएको थियो । उहाँ लागुपदार्थ दुव्र्यसनमा संलग्न हुनुहुन्थ्यो ।
मृतक यादवका आफन्तले सुधार केन्द्रमा अत्यधिक औषधि खुवाइएका कारण मृत्यु भएको आरोप लगाउनुभएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुणबहादुर सिंहले मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने बताउनुभयो । उहाँका अनुसार यादवको पोस्टमार्टम भइसकेको छ भने रिपोर्ट आउन बाँकी छ ।
मृतक यादव परिवारका एक्ला छोरा हुनुहुन्थ्यो । उहाँका पिता वैदेशिक रोजगारीमा हुनुहुन्छ । पीडित परिवार तथा स्थानीयले निष्पक्ष छानबिनको माग गर्दै पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको वीरेन्द्र बजारमा सडक अवरुद्ध गरेर नाराबाजी गरेको थियो ।