
१२ फागुन, काठमाडौँ । समाचार प्रकाशित गरेको विषयमा पत्रकारलाई धम्क्याएको भन्दै नेपाल पत्रकार महासङ्घले विरोध गरेको छ ।
पश्चिम टुडे अनलाइनमा प्रकाशित ‘धनगढीको उज्यालो : भ्रम र वास्तविकता’ शीर्षकको लेखलाई लिएर सम्पादक दीर्घराज उपाध्यायलाई धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका समर्थकहरूले धम्क्याएको घटनामा महासङ्घले विरोध गरेको हो ।
नेपाल पत्रकार महासङ्घ सुदूर पश्चिम प्रदेश समितिका महासचिव शिवराज भट्ट र नेपाल पत्रकार महासङ्घ कैलालीका सचिव तेजराज भट्टले एक विज्ञप्ति जारी गर्दै उपाध्यायलाई मेयर हमालका समर्थकरुले सामाजिक सञ्जाल र व्यक्तिगत रुपमा धम्की दिएको घटनाको निन्दा गर्दै दोषी उपर कारबाहीका लागि सरकारसँग माग गरेका छन् ।
‘समाचार वा लेखका बारेमा चित्त नबुझे कानूनी उपचारका थुप्रै उपायहरू हुँदै पत्रकारलाई धम्क्याउने कार्यप्रति पत्रकार महासङ्घ निन्दा गर्दछ’, जारी विज्ञप्तिमा भनिएको छ । धम्क्याउने कार्यमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याई पत्रकार उपाध्याय र परिवारका सदस्यहरूको सुरक्षाका लागि सम्बन्धित निकायसँग माग गरिएको छ ।
उपाध्यायले धनगढीका नागरिकहरूका तर्फबाट आएका गुनासाहरूको उठान गर्दै पश्चिम टुडे डटकम अनलाइन न्यूज पोर्टलमा फागुन ५ गते ‘धनगढीको उज्यालो : भ्रम र वास्तविकता’ शीर्षकमा समाचार प्रकाशित गरेका थिए ।