
१२ फागुन, वीरगञ्ज । रेस नेपालद्वारा सञ्चालित सामुदायिक रेडियो नारायणी एफ.एम. १०३.८ मेगाहर्जको कार्यकारी निर्देशकमा शिवनाथ यादवलाई नियुक्त गरिएको छ । माघ ८ गते बसेको रेस नेपालको सञ्चालक समितिको बैठकले यादवलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको संस्थाका अध्यक्ष गोविन्द देवकोटाले जानकारी दिए ।
२०६६ सालदेखि नारायणी एफ.एमको कार्यक्रम प्रस्तोता, समाचार वाचक र कार्यक्रम संयोजकको जिम्मेवारी भूमिका निर्वाह गरिसक्नु भएका यादवलाई कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् । नव नियुक्त कार्यकारी निर्देशक यादवलाई सञ्चालक समितिले आज नारयाणी एफ.एम.मा उनलाई स्वागत गरेको छ ।
सञ्चालक समिति अध्यक्ष गोविन्द देवकोटा, सचिव अरविन्द सिंह, कोषाध्यक्ष अधिवक्ता कमल मोहन पोखरेल, भानु अधिकारी लगायतले स्वागत गरे । कार्यकारी निर्देशक नियुक्त भएका यादवलाई बधाई तथा शुभकामना दिदै सञ्चालक समिति अध्यक्ष गोविन्द देवकोटाले नारायणी एफ.एमलाई थप उचाईमा पु¥याउन यादवको महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
सचिव अरविन्द सिंहले अहिलेको अवस्थामा रेडियो सञ्चालनमा धेरै चुनौतीहरु रहेकोले यसको दीगोपनका लागि नयाँ आर्थिक स्रोतको खोजी गर्नुपर्ने आवश्यकता रहेको बताए । कोषाध्यक्ष अधिवत्ता कमलमोहन पोखरेलले सामुदायिक रेडियो नारायणी एफ.एम.आम श्रोताको लोकप्रिय रहेको र यसलाई अझ लोकप्रिय बनाउनका लागि सामूहिक पहल कदमी आवश्यक रहेको औंल्याए ।
नवनियुक्त कार्यकारी निर्देशक यादव केही दिन पहिले सम्पन्न नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाको सदस्यमा निर्वाचित हुनुका साथै मानव अधिकार संगठन पर्साको सचिवको जिम्मेवारीमा समेत छन् ।