
१६ फागुन, काठमाडौँ । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का काठमाण्डौसहित देशका धेरै ठाउँमा महसूस गरिएको थियो ।
कतिपय मानिस निद्राबाट बिउँझिएर घरबाहिर निस्किएका थिए । भूकम्पबाट ठूलो क्षति नभएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले दिएको जानकारी अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारका एक जना कैदी घाइते भएका छन् । सामान्य घाइते भएका उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै कोदारीमा रहेको इलाका प्रहरी कार्यालयको भित्ता चर्किएको पनि प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । यसबाहेक अरु क्षतिकोबारे जानकारी नआएको र बुझ्ने काम भइरहेको उनले बताए । भुकम्पको धक्का वीरगञ्जमा समेत महशुस गरिएको छ ।
यसअघि गएको पुस ५ गते बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि चार म्याग्निच्युडभन्दा माथिका एक दर्जन हाराहारीमा भूकम्प गइसकेका केन्द्रले जनाएको छ ।