
१७ फागुन,वीरगञ्ज । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले संविधानकै परीक्षण जरूरी रहेको बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशको पाँचौँ साधारणसभाको शनिबार बाराको कोल्हवीमा उदघाटन गर्दै प्रमुख अतिथि मण्डलले संविधान अनुसार कहाँ कानून बनेनन् ? कहाँ कार्यान्वयन भएन भन्ने विषयको परीक्षण नभई अन्य विषयको कार्यान्वयन हुन नसक्ने बताए ।
उनले संविधानसभाबाट संविधान निर्माण गर्न सकस भएको र निर्माण भएपनि संविधानको उचित प्रयोग नहुँदा यसको औचित्यमाथि प्रश्न उठेको बताए । संविधासभाबाट संविधान नचाहने बाईप्रोडक्टलाई प्रधानमन्त्री बनाउने काम गर्दा त्यसले त्यसले गणतन्त्रको घाँटी रेटेको बताए।
उनले सामाजिक सञ्जाल विधेयक स्वतन्त्रताको नाममा बढेको अराजकता नियन्त्रण गर्न ल्याएकोले त्यसलाई अन्याथा लिनुपर्ने आवश्यकता नरहेको बताए । पञ्चायतकालमा अभिव्यक्ति स्वतन्त्रता नै नभएको र लोकतन्त्र नै समाप्त भएको अवस्थामा पत्रकारिता पनि समाप्त भएको तर्क गरे ।
पत्रकारितामा सत्यता, निष्पक्षता, स्वतन्त्रताको मूल्य मान्यता स्थापित हुनुपर्ने ठाउँमा यी विषयहरु अहिले मिडिया हाउससँग नीहित भएकोले सत्यको धर्ममा ठिंग उभिन नसकेको बताए । आज फेरि त्यस्तै अवस्था हुने चिन्ता रहेपनि शुरूवातमा कठिनाई हुने तर त्यसलाई पार लगाउनु पर्ने बताए ।