१० चैत,काठमाडौं । बारा र पर्सा जिल्लाका औद्योगिक क्षेत्र र आमउपभोक्ताका लागि विद्युत आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले निर्माणाधीन तीन उच्च क्षमताका सबस्टेसन अब छिट्टै सञ्चालनमा आउने भएका छन्। नेपाल विद्युत प्राधिकरणले जनाए अनुसार अमलेखगञ्ज, प्रसौनी र वीरगञ्जमा निर्माणाधीन १३२ केभी क्षमताका यी सबस्टेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यी आयोजनाहरुको स्थलगत अनुगमन गर्दै निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन्। वीरगञ्ज क्षेत्रको विद्युत माग व्यवस्थापन र भारतसँगको विद्युत व्यापारका लागि यी सबस्टेसन र प्रसारण लाइन महत्वपूर्ण हुने उनको भनाइ छ।
पथलैया–सिमरा–वीरगञ्ज औद्योगिक करिडोरको विद्युत आपूर्ति समस्या समाधान गर्न अमलेखगञ्ज १३२÷६६ केभी सबस्टेसन आगामी जेठ दोस्रो साता (मे २०२५) भित्र सञ्चालनमा आउने भएको छ। यस सबस्टेसनमा आवश्यक अधिकांश उपकरण जडान भइसकेको छ। यससँगै हेटौंडाबाट आउने ६६ केभी लाइनको लम्बाइ घट्ने र १३२ केभी प्रसारण लाइनबाट विद्युत आपूर्ति हुने भएकाले सिमरा–वीरगञ्ज औद्योगिक करिडोरको विद्युत आपूर्तिमा उल्लेखनीय सुधार हुनेछ।
त्यस्तै, प्रसौनी र वीरगञ्ज सबस्टेसन जोड्ने २.८ किलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइनको निर्माण कार्य एक महिनाभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ। यी सबस्टेसनहरु निर्माण सम्पन्न भएपछि वीरगञ्ज क्षेत्रमा विद्युत आपूर्तिका लागि १३२ र ६६ केभीको स्रोत उपलब्ध हुनेछ। यसले विद्युत आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउने छ। हाल वीरगञ्जबाट बाराको कलैया क्षेत्रमा पनि विद्युत आपूर्ति हुँदै आएकोमा प्रसौनी सबस्टेसन बनेपछि त्यहाँबाट आपूर्ति गरिने हुँदा वीरगञ्ज सबस्टेसनको भार कम हुनेछ।
बारा–पर्सा औद्योगिक करिडोरमा बढ्दो औद्योगिक मागलाई ध्यानमा राख्दै प्राधिकरणले उच्च क्षमताका विद्युत प्रसारण तथा वितरण लाइनका पूर्वाधारहरु निर्माणलाई प्राथमिकता दिएको छ। वीरगञ्ज क्षेत्रका उद्योगले अब १३२ केभी प्रसारण लाइनबाट विद्युत आपूर्ति लिन सक्नेछन्। यसका साथै परवानीपुरबाट पोखरियासम्म १३२ केभीको अर्को प्रसारण लाइन र पोखरिया सबस्टेसनको निर्माण कार्य पनि अगाडि बढाइएको छ।
दीर्घकालीन योजना अन्तर्गत हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन अन्तर्गत बाराको निजगढमा ४०० केभी सबस्टेसन निर्माण गरी उक्त लाइन रमौली हुँदै पोखरिया पु¥याउने अर्को महत्वाकांक्षी आयोजना पनि सुरु गरिएको छ। यसका लागि आवश्यक वित्तीय व्यवस्थापन समेत भइसकेको छ।
सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) लगायतका क्षेत्रलाई लक्षित गरी औरही–सिमरा १३२ केभी प्रसारण लाइनको निर्माण कार्य पनि तीव्र गतिमा अगाडि बढिरहेको छ।
यी सबै आयोजनाहरु समयमै सम्पन्न भएपछि बारा र पर्सा क्षेत्रको विद्युत आपूर्तिमा गुणात्मक सुधार आउने र यस क्षेत्रको औद्योगिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

















