२२ चैत,बैंकक । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग थाइल्याण्डको बैंककमा भएको भेटवार्ता सकारात्मक र सौहार्दपूर्ण रहेको बताएका छन्। दुई प्रधानमन्त्रीबीच बैंककस्थित होटल माडारिन ओरियन्टलमा करिब ४५ मिनेट एक्लाएक्लै वार्ता भएको हो।
भेटवार्ता कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भने, “म र भारतीय प्रधानमन्त्री मोदीजीबीच राम्रो र सकारात्मक संवाद भएको छ। अहिलेलाई यति।”
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलन समापन भएलगत्तै दुई नेताबीच पूर्वनिर्धारित तालिकाअनुसार भेटवार्ता भएको हो। यस भेटवार्तालाई दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने अवसरको रूपमा हेरिएको छ।
यसअघि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा गत असोज ७ गते भेटवार्ता भएको थियो। दुई देशका प्रमुख कार्यकारीबीच निरन्तर भइरहेको यस्तो भेटवार्ताले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्ने विश्वास गरिएको छ।














