२३ चैत,वीरगञ्ज । पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नम्बर ५ स्थित बर्वा टोलमा आज एक विशेष समारोहका बीच नव निर्मित हुने शिव मन्दिरको शिलान्यास गरिएको छ। मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले वैदिक विधिपूर्वक मन्दिरको शिलान्यास गरेका हुन्।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री जयसवालले स्थानीय बासिन्दाहरुको अमूल्य मतले आफू मन्त्री बनेको स्मरण गराए। उनले भने, “तपाईंहरुको भोटले नै मैले यो जिम्मेवारी पाएको छु। म यहाँहरुको काम इमान्दारितापूर्वक सम्पन्न गर्नेछु।“ मन्त्री जयसवालको यो भनाइले उपस्थित जनसमुदायमा सकारात्मक सन्देश प्रवाह गरेको थियो।
मन्दिरको शिलान्यास भएपछि स्थानीयवासीहरुमा खुसीयाली छाएको छ। उनीहरुले मधेश प्रदेश सरकार र विशेषगरी मन्त्री जयसवाललाई धन्यवाद ज्ञापन गर्दै मन्दिर निर्माण कार्य छिट्टै सम्पन्न हुनेमा आशावादी रहेको बताए।
बहुदरमाई नगरपालिका वडा नम्बर ५ को बर्वा टोलमा शिव मन्दिर निर्माण भएपछि स्थानीय धार्मिक गतिविधिहरु सञ्चालन गर्न थप सहज हुने विश्वास गरिएको छ। यसले यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप बलियो बनाउनुका साथै आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिकर्मी, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय भक्तजनहरुको सहभागिता रहेको थियो।















