२६ चैत,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको बल्खुमा आयोजना गरेको खबरदारी सभाबाट प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार राप्रपाको प्रदर्शनमा घुसपैठ गर्न खोजेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
राप्रपाले आफ्नो कार्यक्रम शान्तिपूर्ण हुने बताउँदै आएको छ। यसैबीच, घुसपैठ गर्नेहरूलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउने प्रतिबद्धतासमेत राप्रपाले जनाएको छ।
‘व्यवस्था र अवस्था बदलौं, भ्रष्टाचार र कुशासनविरुद्ध’ भन्ने नारासहित राप्रपाले प्रदर्शन तथा सभा आयोजना गरेको हो। सभालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपति शम्शेर राणा, प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन कार्की र ज्ञानेन्द्र शाही लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
राप्रपाले राजसंस्था पुनस्र्थापना र संघीयता खारेजी लगायतका मुख्य एजेन्डासहित अध्यक्ष लिङ्देनको नेतृत्वमा आन्दोलन अघि बढाउने निर्णय गरेको छ। सोही निर्णयअनुसार आज बागमती प्रदेशस्तरीय प्रदर्शन र सभा भएको हो। राप्रपाले आगामी वैशाख ७ गतेदेखि काठमाडौं उपत्यका केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ।

















