२८ चैत,काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्नको लागि १५ दिन म्याद थप गरेको छ। यसअघि चैत मसान्तभित्रै नवीकरण गरिसक्न निर्देशन दिए पनि विभिन्न जिल्लामा विवादका कारण काम नटुंगिएपछि कांग्रेसले वैशाख १५ गतेसम्मको नयाँ सीमा तोकेको हो।
पार्टीका महामन्त्री गगन थापाले ७७ वटै जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै म्याद थपिएको जानकारी गराएका छन्। उनले थपिएको समयमा अनिवार्य रूपमा नवीकरणको काम सम्पन्न गर्न निर्देशन दिएका छन्।
कांग्रेसले क्रियाशील सदस्यता नवीकरणका लागि दुई सय रुपैयाँ शुल्क निर्धारण गरेको छ। पार्टीमा महाधिवेशनको समयमा क्रियाशील सदस्यतालाई लिएर विवाद हुने गरेको इतिहास छ। तर, यसपटक महामन्त्री थापाले तोकिएको समयमा नवीकरण नगरेमा पछि कुनै सुनुवाइ नहुने चेतावनी दिँदै आएका छन्। उनले महामन्त्रीको मुख्य जिम्मेवारी संगठनलाई सुदृढ बनाउने भएकाले आफू अहिले त्यसतर्फ केन्द्रित भएको बताएका छन्।
महामन्त्री थापाले पार्टीका नेताहरूलाई आफूलाई दोष लगाउनुभन्दा आफ्नो निर्वाचन क्षेत्रमा नवीकरणको काम समयमै सम्पन्न गर्न आग्रह गरेका छन्। उनले भने, ‘मलाई दोष लगाउनुभन्दा तपाईंहरुले आफ्नो क्षेत्रमा गएर नवीकरणको काम टुंग्याउनुस्, महाधिवेशन हुन्छ। हिजो मात्रै ताकेता गरेको छु, वैशाख १५ भित्र सक्नुभयो।’ क्रियाशील सदस्यहरूको नवीकरणको काम समयमै सम्पन्न भए पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने उनको दाबी छ।

















