४ वैशाख, रुपन्देही । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी २०८४ सालसम्म सरकारमा नजाने आफ्नो पार्टीको निर्णयमा थप दृढता आएको बताएका छन्।
हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानका क्रममा बिहीबार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले सरकारमा जान हतार नभएको स्पष्ट पारे।
उनले भने, ‘वृद्धवृद्धादेखि युवायुवती र बालबच्चासम्मले पनि अब हाम्रो भरोसा फेरि एकपटक माओवादीतिर, माओवादी नेतृत्वतिर र प्रचण्डतिर छ भनेर भावुक भएर आउने हजारौं हजारको संख्या हामीले हुलाकीमार्ग वरीपरी देख्यौं। यसले हामीलाई थप जिम्मेवारी बोध भएको छ।’
प्रचण्डले थप भने, ‘र, सरकारमा २०८४ सम्म नजाने हाम्रो निर्णयमा एउटा नयाँ दृढता पैदा भएको छ। तपाईंहरुलाई लाग्छ सरकारमा जान हतारो गरेको होला?’
फेरि सरकारमा गएर पुरानो गल्ती नदोहोर्याउने बताउँदै उनले भने, ‘विल्कुल होइन। हामी फेरि एकचोटी सरकारमा गएर त्यो त्रुटी गर्ने पक्षमा छैनौं। यो हामीले भन्नका लागि भनेको होइन। तपाईंहरु भन्नुहुन्छ–कुर्सी प्राप्तिका लागि जे पनि गर्ने।’
आफू कुर्सीका लागि मरिहत्ते नगरेको दाबी गर्दै प्रचण्डले भने, ‘कुर्सी प्राप्त गर्नलाई जे पनि गर्ने भए मेरो कुर्सी जानै नै थिएन। म कांग्रेस र एमालेको समर्थन प्राप्त गरिराख्न सक्थेँ।’

















