Logo

४ वैशाख,वीरगञ्ज । मधेश प्रदेश सरकारले समन्वय नगरी सञ्चालन गरिरहेका विकास योजनाहरूको विवरण पेश गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्ना सबै वडा कार्यालयहरूलाई निर्देशन दिएको छ ।

उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले एक आन्तरिक परिपत्र जारी गर्दै वडा कार्यालयहरूलाई चालु आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश सरकारबाट उपभोक्ता समिति मार्फत सञ्चालित योजनाहरूको विस्तृत जानकारी उपलब्ध गराउन भनेका हुन् ।

परिपत्रमा प्रमुख पौडेलले मधेश प्रदेश सरकारका विभिन्न मन्त्रालय र कार्यालयहरूले उपमहानगरपालिकासँग समन्वय नगरी योजनाहरू सञ्चालन गरिरहेको जनगुनासो र सूचना प्राप्त भएको उल्लेख गरेका छन् । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि त्यसको पालना नभएको उनको भनाइ छ । यसले योजनाहरूमा दोहोरोपना आउन सक्ने र सरकारी रकमको दुरुपयोग हुने सम्भावना रहेको उनले औंल्याएका छन् ।

उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणको तयारी गरिरहेको र योजनाहरूमा दोहोरोपना हुन नदिन यो विवरण आवश्यक रहेको परिपत्रमा जनाइएको छ । साथै, उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा निर्माण हुने सबै योजनामा गुणस्तरीयता र सुशासन कायम गर्न मापदण्डहरू समेत बनाएको र सोही अनुसार काम गर्नुपर्नेमा जोड दिइएको छ ।


सम्बन्धित समाचार