१२ वैशाख,काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आग्रह गरेका छन्। मन्त्री पन्तले बिहीबार शपथग्रहण गरेलगत्तै शुक्रबार एक विज्ञप्ति जारी गर्दै शिक्षकहरुलाई संवादका माध्यमबाट समस्याको समाधान खोज्न आह्वान गरेका हुन्।
विज्ञप्तिमा मन्त्री पन्तले भनेका छन्, ‘शिक्षकहरूसँग विगतमा झै निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई मन्त्रालयको तर्फबाट यथाशीघ्र वार्ता र संवादका लागि अनुरोध गर्दछु।’
उनले विद्यालय शिक्षा विधेयक संसदमा पेश हुने, छलफल हुने र स्वीकृत हुने निश्चित कानूनी प्रक्रियामा रहेको जानकारी गराउँदै शिक्षक प्रतिनिधिहरुसँगको छलफल र परामर्शबाट नै विधेयकको मस्यौदा तयार पारिएको स्पष्ट पारेका छन्। मन्त्री पन्तले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने शिक्षक तथा कर्मचारीको चासो र अपेक्षा स्वाभाविक रहेको उल्लेख गरेका छन्।
शिक्षामन्त्रीको यो सकारात्मक पहलले लामो समयदेखि आन्दोलनरत शिक्षकहरु र सरकारबीच संवादको वातावरण बन्ने र समस्याको निकास निस्कने अपेक्षा गरिएको छ।



















