२० वैशाख, वीरगञ्ज । वीरगञ्जको लिंकरोड स्थित पब्लिक फिटनेसले एक भव्य स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ। खेलाडीहरूलाई हौसला प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न खेलका स्थानीय खेलाडीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्य नन्दा बस्यालले खेलाडीहरू आफैँमा धेरै कुरा बुझेको र शारीरिक तन्दुरुस्तीको तयारीमा रहेको बताइन्।
उनले यो खेल अन्य खेलभन्दा फरक रहेको उल्लेख गर्दै खेलाडीले खेल सुरु गर्नासाथ पहिचान बनाउन थाल्ने र खेल राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन्।
बस्यालले बिरगंजले कबड्डी, कुस्ती, क्रिकेट लगायतका विभिन्न खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन गर्दै आएको स्मरण गराइन्। पब्लिक फिटनेसका सञ्चालक करण यादव राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा परिचित रहेको बताउँदै उनले खेलाडीहरूलाई आफ्नो ठाउँलाई चिनाउने गरी खेलमा लाग्न आग्रह गरिन्।
मधेश प्रदेश खेलकुद परिषद् खेलाडीहरूको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै उनले मधेश प्रदेशबाट धेरै खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको जानकारी दिइन्।
कार्यक्रममा मधेश प्रदेशका खेलकुद सचिव शिवजी गुप्ताले खेलाडीहरूलाई हरतरहको सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए। उनले २०५० सालदेखि तेक्वान्दो खेल सुरु गरेको र हालसम्म ब्ल्याक बेल्ट ७ सम्मको उपाधि जितेको अनुभव सुनाए।
उनले आफू ४० वर्षभन्दा माथिका खेलाडीसँग समेत प्रतिस्पर्धामा उत्रने गरेको र २०२३ मा कोरियाबाट स्वर्ण पदक तथा २०२४ मा अफ्रिकाको न्यूजसीमा भएको खेलमा दोहोरो स्वर्ण पदक जितेको जानकारी गराउँदै खेलाडीहरूलाई पनि अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चिनाउन आग्रह गरे।
उनले खेलाडीहरूको दुःखलाई आफूले नजिकबाट महसुस गरेको र विगतमा पुरस्कार लिन जाँदा खल्तीमा पैसा नहुने अवस्था समेत देखेको बताए। यद्यपि, खेललाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।
पब्लिक फिटनेसका सञ्चालक तथा कार्यक्रमका अध्यक्ष करण यादवले उपस्थित सबैलाई स्वागत गर्दै खेलाडीहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। कार्यक्रमको सञ्चालन शिवनाथ यादवले गरेका थिए।
कार्यक्रममा नाजिर हुसैन, श्याम सर्राफ, समाजसेवी प्रमिला देवी, सञ्चारकर्मी सन्तोष कुशवाहा लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

















