Logo

३१ बैशाख, काठमाडौँ । भारतमा जारी १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ४–० गोल अन्तरले पराजित भएको छ ।

यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका दुई टोलीबीच हिजो भएको प्रतिस्पर्धामा आयोजक भारतले एकतर्फी प्रदर्शन गर्दै नेपाललाई पराजित गरेको हो । यो जीतसँगै भारत समूह ‘बी’ को विजेता बनेको छ भने नेपाल उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणमा भारतले श्रीलङ्कालाई ८–० ले हराएको थियो भने नेपालले पनि श्रीलङ्कामाथि ५–० को सानदार जीत दर्ता गरेको थियो ।

अब सेमिफाइनलमा भारतले समूह ‘ए’ को उपविजेता माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ भने नेपालले समुह ‘ए’ को विजेता बङ्गलादेशसँग भिड्नेछ। सेमिफाइनल खेलहरू पर्सि शुक्रवार (मे १६) का लागि तय गरिएको छ ।

नेपालले यसअघि सन् २०१५ मा भएको पहिलो संस्करण तथा २०१७ को यू–१८ च्याम्पियनशिप जितेको थियो । तर पछिल्लो संस्करणमा भने नेपाल फाइनलमा बङ्गलादेशसँग पराजित भएको थियो ।

नेपालले पुनः उपाधि यात्रामा फर्कन बङ्गलादेशलाई हराउनु पर्ने चुनौती रहेको छ ।


सम्बन्धित समाचार