२ जेठ,काठमाडौं । नेपालको महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकपको एसिया छनोटको सुपर ३ चरणमा प्रवेश गरेको छ। आज हुने तय भएको बहराइन र हङकङबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपालले सुपर ३ मा स्थान सुरक्षित गरेको हो।
चार खेल खेलेको नेपालले दुई खेलमा जित, एकमा हार र एक खेल वर्षाले रद्द हुँदा ५ अंक जोडेको छ। त्यस्तै, चार खेलमा एक जित र तीन खेल नतिजाविहीन भएको हङकङको पनि ५ अंक छ। हङकङले एकमात्र जित नेपालविरुद्ध निकालेको थियो।
अंक तालिकामा हङकङ र नेपालको अंक समान भए पनि हङकङ नेट रनरेटमा अगाडि छ। तर, नेपालले दुई खेल जितेको र हङकङले एक खेल मात्र जितेकाले नेपाल समूह विजेता बन्दै सुपर ३ मा प्रवेश गरेको हो।
नौ टोली सहभागी प्रतियोगिताको समूह चरणको एउटा खेलको नतिजा आउन बाँकी रहे पनि सुपर ३ को समीकरण पूरा भएको छ। समूह ‘सी’ को विजेता नेपालसँगै समूह ‘ए’ बाट थाइल्याण्ड र समूह ‘बी’ बाट संयुक्त अरब इमिरेट्स (युएई) सुपर ३ मा पुगेका छन्।
अब सुपर ३ मा यी तीन टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्। यसपछि शीर्ष दुई टोली टी–२० विश्वकपका लागि छनोट हुनेछन्। सुपर ३ मा नेपालले पहिलो खेल आगामी सोमबार युएईसँग र दोस्रो खेल मंगलबार थाइल्याण्डसँग खेल्ने कार्यक्रम छ।

















