३ जेठ,पर्सागढी । सब डिभिजन वन कार्यालय बडनिहारले गए राति ठूलो परिमाणमा सालको गोलिया बरामद गरेको छ। सबैया साझेदारी वन क्षेत्रबाट अवैध रूपमा सालको काँचो रुख कटान गरी गोलिया बनाएर साइकलमा लैजाँदै गर्दा पर्सागढी नगरपालिका वडा नम्बर ३ स्थित झाब्राहा हनुमान खाबर भन्ने स्थानबाट ७ थान सालको काँचो गोलिया र सात थान साइकल बरामद गरिएको हो।
सब डिभिजन वन कार्यालय बडनिहारका जम्दार जितबहादुर तामाङको कमाण्डमा खटिएको वन गस्ती टोलीले राति गस्ती गर्ने क्रममा करिब ३२ क्युफिट सालको गोलिया र सात थान साइकल बरामद गरेको जम्दार तामाङले जानकारी दिए।
वन गस्ती टोलीलाई देखेपछि तस्करहरू काठ र साइकल छाडेर फरार भएका छन्। उनीहरूको पहिचान गरी खोजी कार्य सुरु गरिएको सब डिभिजन वन कार्यालय बडनिहारका वन अधिकृत नवमित मिश्रले बताए।
स्थानीय बासिन्दाका अनुसार सबैया साझेदारी वन क्षेत्रको रामबन, सोलकपुर, मिलनचौक, सबैया टाडी, पटेल चोक लगायतका नाकाबाट वन कर्मचारीको मिलेमतोमा व्यापक रूपमा काठ तस्करी भइरहेको छ।

















