४ जेठ, काठमाडौं । काभ्रेपलाञ्चोकमा हिजो विद्युतीय पोलमै करेन्ट लागेर युवकको मृत्यु भएको विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभा बैठकमा सांसदहरुले विद्युतको पोलमा चढेर काम गर्दा करेन्ट लागेर मृत्यु भएको विषय उठाएको हो । प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारिबथानका उपेश नेपालीको हिजो धुलिखेल नगरपालिका– ७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको विषय उठाएका हुन् ।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै काभ्रेका सांसद सूर्यमान दोङ तामाङ, शिव नेपाली, सहराज अहमत फारुकी पोलमा करेन्ट लागेर मृत्यु भएको विषयमा छानबिन गर्न माग गरेका छन् । उनीहरूले उक्त घटनामा नेपालीको मृत्यु भएको नभई हत्या भएको बताउँदै छानबिन गर्न माग गरेका हुन् ।
नेपाल विद्युत् प्राधिकरणमार्फत काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युतको खम्बामा काम गरिरहेकै बेला परियारको मृत्यु भएको थियो । तार जोड्न खम्बामा चढेका परियारको विद्युत् प्राधिकरणले सूचनाविना नै विद्युत् लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको बताइएको थियो ।















