४ जेठ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका दुई महत्वपूर्ण क्षेत्रमा पानी निकासी प्रणालीलाई व्यवस्थित गर्न वृहत नाला निर्माण कार्यको थालनी भएको छ। खानेपानी मन्त्री प्रदीप यादवले आज वीरगन्ज महानगरपालिका वडा नम्बर १८ को सुप्चैना र वडा नम्बर २१ को परवानीपुरमा १ हजार २५६ मिटर लामो नाला निर्माणको शिलान्यास गरेका हुन्।
उक्त शिलान्यास समारोहमा मन्त्री यादवले नाला र ढल निर्माणपछि वर्षायाममा यी क्षेत्रहरूमा हुने डुबानको समस्या हट्ने र सडकको अवस्थामा समेत सुधार आउने विश्वास व्यक्त गरे। उनले भने, ‘नाला निर्माणपछि यस क्षेत्रको पानी व्यवस्थापनमा सुधार आउनेछ र यातायात सञ्चालनमा पनि सहजता हुनेछ।’
स्थानीय पूर्वाधार विकासलाई सरकारले प्राथमिकता दिएको बताउँदै मन्त्री यादवले नागरिकको दैनिक जीवनलाई सहज बनाउन यस्ता आयोजनाहरू महत्वपूर्ण हुने धारणा राखे। विकास निर्माणमा सबैको सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए। ‘खानेपानी र ढल निकासको क्षेत्रमा सरकारले उल्लेखनीय काम गरिरहेको छ। नागरिकको जीवन सहज बनाउन हामी प्रतिबद्ध छौं,’ उनले भने।
मन्त्री यादवले शुद्ध खानेपानी वितरण र नाला निर्माण जस्ता प्रत्यक्ष सरोकारका विषयलाई प्राथमिकतामा राखेर समयमै काम सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष राधेकृष्ण साह रौनियारले दिएको जानकारी अनुसार, यो नाला निर्माण परियोजना १ करोड ७२ लाख रुपैयाँको लागतमा सम्पन्न हुनेछ। यो नाला वडा नम्बर १८ को सुखचैनादेखि वडा नम्बर २१ को परवानीपुरसम्म फैलिनेछ, जसको कुल लम्बाई १ हजार २५६ मिटर हुनेछ।

















