Logo

६ बैशाख, वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिकामा भएको अनियमितताको समाचार लेखेकै कारण पत्रकार राजु बैठालाई धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ। महासंघले धम्की दिनेलाई कारबाहीको माग गरेको छ।

विश्रामपुर गाउँपालिकामा तटबन्धन निर्माणमा भएको अनियमितता र पाँचरपाँच फिट माटो खनेर बिक्री गरिएको विषयमा पत्रकार बैठाले तयार पारेको भिडियो रिपोर्ट प्रकाशित भएपछि स्थानीय टइट यादवसहितको समूहले घरमै पुगेर गालीगलौज गर्दै भौतिक आक्रमणको धम्की दिएको जनाइएको छ।

नेपाल पत्रकार महासंघ, पर्सा शाखाका सचिव विजयकुमार महतोले विज्ञप्ति जारी गर्दै समाचारमा चित्त नबुझे कानुनी बाटो हुँदाहुँदै पत्रकारलाई भौतिक आक्रमणको धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष हमला भएको भन्दै घोर भर्त्सना गरेका छन्।

महासंघले घटनाको तत्काल छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ। साथै, पत्रकारको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन पनि माग गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै