११ जेठ, काठमाडौं । नक्कली भारतीय नोट कारोबारको मुद्दामा ६ वर्ष कैद भुक्तान गरी शनिबार नख्खु कारागारबाट रिहा भएका युनुस अन्सारीलाई सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कारागारबाट छुट्ने बित्तिकै नियन्त्रणमा लिएका अन्सारीलाई आइतबार अदालतमा उपस्थित गराएपछि म्याद थप भएको हो।
सीआईबीका एसएसपी होमिन्द्र बोगटीले अन्सारीलाई अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको जानकारी दिए।
२०७६ जेठ १० गते युनुस अन्सारीसहित ६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो। सो क्रममा ७ करोड ७६ लाख नक्कली भारतीय रुपैयाँ बरामद भएको थियो। कतारबाट काठमाडौं आउने तीन पाकिस्तानी नागरिक मोहम्मद अख्तर, नासिर उद्दिन र नादिया अनवरसहित उनीहरुलाई लिन पुगेका युनुससँगै रौतहटको बैरिया–१ का सुबल खान र भक्तपुरको बालकोटका रानाभाट पनि पक्राउ परेका थिए।
यस घटनामा अदालतले अन्सारीलाई दोषी ठहर गर्दै ६ वर्ष कैद, ६० हजार रुपैयाँ जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो। उनले शनिबार सोही कैद सजाय भुक्तान गरी कारागारबाट मुक्त भएका थिए। तर, कारागारबाट बाहिरिने बित्तिकै सीआईबीले उनलाई सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, हिरासतबाहिर राख्दा अन्सारीमाथि ’सुरक्षा चुनौती’ देखिएकाले अनुसन्धानका लागि हिरासतमै लिनुपर्ने अवस्था आएको हो। अन्सारी भारतीय आपराधिक गिरोहको निसानामा पर्दै आएका छन्। केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका बेलासमेत अन्सारीमाथि २०६७ फागुन २६ गते भारतीय सुटर मनमित सिंह भनिने मनमित भाटियाले गोली हानी हत्या प्रयास गरेका थिए।














