२७ जेठ, काठमाडौं । गत वर्षको तुलनामा वैशाख महिनामा महंगी घटेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ७७ प्रतिशतमा झरेको हो । गत वर्षको वैशाखमा यस्तो मुद्रास्फीति ४ दशमलव ४० प्रतिशत थियो । यस्तै समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १ दशमलव ५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ४५ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ६ दशमलव ४१ प्रतिशत र ३ दशमलव ०९ प्रतिशत थियो ।
राष्ट्र बैंकका अनुसार सहरीभन्दा ग्रामीण क्षेत्रमा महंगी बढी देखिएको छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३ दशमलव २१ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २ दशमलव ६१ प्रतिशतले बढेको हो । प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव २९ प्रतिशत, मधेश प्रदेशको २ दशमलव ८१ प्रतिशत, बागमती प्रदेशको २.४० प्रतिशत, गण्डकी प्रदेशको २ दशमलव २३ प्रतिशत, लुम्बिनी प्रदेशको २ दशमलव १५ प्रतिशत, कर्णाली प्रदेशको २ दशमलव २१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३दशमलव १४ प्रतिशत छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ६४ प्रतिशत, तराईको २ दशमलव ६४ प्रतिशत, पहाडको २दशमलव ६५ प्रतिशत र हिमालको ४ दशमलव ०१ प्रतिशत छ ।















