Logo

३०, जेठ वीरगञ्ज । औषधि व्यवसायीहरूले मुखमा कालो पट्टी बाँधेर औषधि व्यवस्था विभागको शाखा कार्यालयको गेट अगाडि शान्तिपूर्ण धर्ना दिएका छन्। सरकारले ल्याउन लागेको औषधिको मूल्य समायोजन सम्बन्धी अव्यावहारिक नीतिको विरोधमा उनीहरूले धर्ना दिएका हुन्।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले सरकारको यस नीतिले राष्ट्रिय उद्योगहरू चल्न नसक्ने अवस्था आउने बताए। उनले नेपाल सरकारले औषधिको मूल्य निर्धारणका लागि एउटा समिति गठन गरे पनि उक्त समितिमा औषधि व्यवसायी र औषधि उत्पादकहरूलाई समावेश नगरिएकोमा आपत्ति जनाए। गौतमले सरकारले एकलौटी रूपमा गठन गरेको समितिले ुहुने नहुनेु प्रतिवेदन सरकारलाई पेश गरेको आरोप लगाए।

औषधि व्यवसायी संघले सरकारको यस नीतिको विरोधमा आज प्रदर्शन गरेको जानकारी दिँदै अध्यक्ष गौतमले यदि उनीहरूको माग पूरा नभए नेपालमा औषधिको अभाव हुने चेतावनी दिए। उनले नेपाल सरकारको दुर्भाग्य भएको बताउँदै पहिले श्रमिकहरूलाई विदेश पठाएको, त्यसपछि विद्यार्थीहरूलाई विदेश पठाएको र अब उद्योगपति तथा व्यापारीहरूलाई समेत विदेश पठाउन लागेको हो भन्दै प्रश्न गरे। गौतमले यो देशमा भ्रष्ट कर्मचारी र भ्रष्ट नेताहरू मात्र बस्ने अवस्था आउने आशंका व्यक्त गरे।

नेपाल औषधि उत्पादक संघका बरिष्ठ उपाध्यक्ष प्रभात रुंगटाले २०७५ सालमा बनेको ऐन लागू नगरेर अहिले सरकारले कुनैपनि सरोकारवाला निकायहरुसँग छलफल नै नगरी एकपक्षीय रुपमा लागू गर्न खोजेकोले त्यसको विरोध गर्नुपरेको बताए । उनले अहिले ऐन लागू गरेमा नेपालमा औषधि आयात र उत्पादन दुवै प्रभावित हुने बताए ।

नेपाल औषधि व्यवसायी संघ पर्साका वरिष्ठ उपाध्यक्ष विश्वराज गौतमले औषधि व्यवस्था विभागका डाइरेक्टरले ूऔषधि होलसेल, थोक बिक्रेता र खुद्रा औषधि व्यवसायी चाहिँदैनू भन्दै टिप्पणी गरेको र यी सबै नीति(नियमको विरोधमा उनीहरूको धर्ना रहेको स्पष्ट पारे।

धर्नामा सहभागी व्यवसायीहरूले सरकारले अविलम्ब आफ्नो नीति परिवर्तन गरी औषधि उद्योग र व्यवसायीमैत्री वातावरण निर्माण गर्नुपर्ने माग गरेका छन्। अन्यथा, थप कडा आन्दोलनका कार्यक्रमहरू घोषणा गरिने उनीहरूले बताएका छन्।


सम्बन्धित समाचार