Logo

३ असार, काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आफ्नो आलोचना जारी राखेका छन्। मंगलबार बिहान सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै रावलले ओलीलाई ‘दक्षिणपन्थी देउवा-महन्थ-सीके गठबन्धनका प्रधानमन्त्री तथा बामालेका ‘झोले’ अध्यक्ष’ भन्दै आक्रोश पोखेका छन्।

रावलका अनुसार ओलीले विद्यार्थीको एउटा कार्यक्रममा आफूलाई पार्टीप्रति ‘पजिटिभ’ नभएको, ‘समर्थन’ नगर्ने, ‘ढुंगा’ हान्ने ‘अराजक’, ‘फाइदा र पद खोज्ने’ जस्ता आरोप लगाएपछि जवाफ दिन बाध्य भएको बताएका छन्। रावलले ओलीका आरोपलाई ‘हास्यास्पद, झुटा, सत्ता उन्मादी र विद्वेषपूर्ण’ भन्दै ती आरोप ओली स्वयंको जीवन चरित्र, व्यवहार र प्रवृत्तिको झल्को भएको दाबी गरेका छन्। उनले ओलीका ‘गलत क्रियाकलापमाथि पर्दा हाल्न’ यस्ता आरोप लगाउने गरेको आरोप लगाए। रावलले गत पुस महिनामा नै ओलीका देश, जनता, संविधान र एमालेको सिद्धान्त विरोधी क्रियाकलापबारे तथ्यगत रूपमा स्पष्ट पारेको र ती तथ्यहरूको खण्डन आजसम्म कसैले गर्न नसकेको बताए।

रावलले ओली स्वयंले आफूलाई ‘बा’ र ‘झोले’ घोषणा गरेकाले आफूले पनि सोही विशेषण प्रयोग गरेको उल्लेख गरेका छन्। उनले ‘झोले’ शब्दको अर्थ ‘अन्धभक्त, लोभ र अवसरको लागि स्वविवेक गुमाएर कसैको पछि लाग्ने, स्वार्थी’ लाग्ने बताउँदै कम्युनिस्ट पार्टीको नाममा यस्तो अवस्था आउनु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन्।


सम्बन्धित समाचार