६ असार,महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकामा मेयर डा. दिपेन्द्र महतो र उपमेयर रेणुकुमारी महतोबीचको विवाद चर्किएको छ। मेयर महतोले उपमेयरमाथि कार्यालयको दर्ता चलानी रजिष्टर चोरेको र क्रसर व्यवसायीसँग मिलेमतो गरेको आरोप लगाउँदै कारबाहीका लागि प्रहरी गुहारेका छन्।
मेयर डा. दिपेतो महतोले जारी गरेको प्रेस विज्ञप्तिमा गैरकानुनी तरिकाले दर्ता चलानी रजिष्टर लगेको भन्दै आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिएको उल्लेख छ। विज्ञप्तिमा उपमेयरले क्रसर माफियासँग मिलेर अराजक गतिविधि गर्न लागेको आरोपसमेत लगाइएको छ।
विवादको चुरोः
उपमेयर रेणुकुमारी महतोले मंगलबार कार्यालयको दर्ता चलानी रजिष्टर नियन्त्रणमा लिएकी थिइन्। उनको भनाइअनुसार, दर्ता चलानीमा महलहरू खाली राखेर अनियमितता गरिएको थियो र त्यसको प्रमाणको रूपमा उनले खाली महल भएको रजिष्टरको फोटोसमेत सार्वजनिक गरेकी छिन्।
तर, मेयर महतोले भने उपमेयरले दर्ता चलानी रजिष्टर ’चोरेर लगेको’ भन्दै उनीमाथि कारबाही हुनुपर्ने निर्णय कार्यपालिकाबाट गराएका छन्। बुधबार बिहान मेयरले डाकेको कार्यपालिका बैठकमा उपमेयरलाई गेटबाटै छिर्न नदिएको उपमेयरले भिडिओमार्फत् असन्तुष्टि पोखेकी थिइन्। मेयरले ’गुण्डागर्दी शैलीमा’ गेटबाटै छिर्न नदिएको उनको आरोप छ।
क्रसर व्यवसायीसँगको मिलेमतोको आरोपः
मेयर महतोले उपमेयरमाथि क्रसर व्यवसायी प्रमोद महतोसँग मिलेमतो गरी नगरपालिकालाई राजस्वमा क्षति पु¥याउन खोजेको गम्भीर आरोप लगाएका छन्। उनले विज्ञप्तिमा गौशाला नगरपालिका–८ स्थित प्रमोद महतोको श्रीमतीको नाममा रहेको श्री शिवम गिट्टी तथा वालुवा वासिङ्ग सेन्टरले भन्टाबारी नजिकको खोलाबाट अवैध रुपमा २ लाख २५ हजार घन मिटर ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन गरेको र त्यसबापत ४ करोड ५० लाख रुपैयाँ (मू.अ.करसहित) राजस्व असुल गर्ने तथा उक्त फर्मको स्थानीय व्यवसाय दर्ता प्रमाण पत्र रद्द गर्ने निर्णय भएकोमा उपमेयरले हस्तक्षेप गर्न खोजेको दाबी गरेका छन्।
अन्य आरोपहरूः
मेयर महतोले उपमेयरमाथि विगतदेखि नै जनताको कामकाजमा अवरोध पु¥याउने, कर्मचारीहरूलाई डराउने, धम्काउने तथा पिट्ने, विकास निर्माणमा बाधा पु¥याउने, नगरपालिकाको बजेट फ्रिज गर्ने तथा आगामी आर्थिक वर्षको बजेट निर्माणलाई अवरुद्ध गर्ने नियतले नगरपालिकाको मूल गेटअगाडि कर्मचारीको गाडी रोक्ने, ढुङ्गामुढा तथा झगडा गर्ने गतिविधि गरिरहेको आरोप लगाएका छन्।
उनले कार्यालय परिसरमा कुनै पनि अराजक गतिविधि, तोडफोड, झडप तथा सार्वजनिक सम्पत्तिको क्षति भएमा सम्पूर्ण जिम्मेवार उपमेयर नै हुने चेतावनीसमेत दिएका छन्।
मेयर र उपमेयर दुवै जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भएका हुन्। यस घटनाले गौशाला नगरपालिकाको प्रशासनिक काममा थप असर पर्न सक्ने देखिएको छ।
यो पनि पढ्नुहोस :-

















