६ असार, काठमाडौं । निर्वाचन आयोगले हालसम्मको अभिलेखअनुसार डा. मुकुल ढकाल नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री रहेको पुष्टि गरेको छ। गत वर्ष पार्टीले ढकाललाई कारबाही गर्दै पदबाट हटाएको दाबी गरे पनि आयोगले सो विवरण अद्यावधिक नगरेको जानकारी दिएको हो।
२०८० चैत २० मा आयोगले रास्वपाको विधानको दोस्रो संशोधन अभिलेखिकरण गरेको थियो, जसअनुसार पार्टी सभापति रवि लामिछाने, उपसभापति डोल प्रसाद अर्याल र महामन्त्री/प्रवक्ता डा. मुकुल ढकाल रहेका थिए। त्यही संशोधनअनुसार स्वर्णिम वाग्ले दोस्रो उपसभापतिका रूपमा मनोनीत भएका थिए भने अन्य पदहरू पनि थपिएका थिए। आयोगको अनुसार त्यसयता कुनैपनि विवरण अद्यावधिक गरिएको छैन।
डा. ढकालले गत बुधबार आयोगमा निवेदन दिंदै आफ्नो पदको स्थिति बारे जानकारी माग गरेका थिए। सोही अनुरूप आयोगले अभिलेख अद्यावधिक नभएको स्पष्ट पार्दै ढकालकै नाम अझै महामन्त्रीको रूपमा रहेको पत्राचारमार्फत जानकारी गराएको हो। आयोगको पत्र कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाकी शाखा अधिकृत उषा गजमेरले पठाएकी हुन्।
पार्टीभित्रको तरंग
आयोगबाट प्राप्त जानकारीपछि ढकालले शुक्रबार कार्यबाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेलाई पत्र लेख्दै पार्टीको नेतृत्व र बैठकबारे परामर्श गर्न समय माग गरेका छन्। पत्रमा उनले आफू पार्टीको उपसभापतिको हैसियतले केन्द्रीय समितिको बैठक बोलाउन सक्ने अधिकारसमेत स्मरण गराएका छन्।
रास्वपाभित्र गत वर्ष ढकालले गरेको देशव्यापी संगठनात्मक भ्रमण र त्यसपछि पेश भएको प्रतिवेदनले सभापति रवि लामिछाने लगायत संस्थापन पक्षसँग उनको मतभेद चुलिएको थियो। त्यसकै परिणामस्वरूप २५ असार, २०८१ मा ढकाललाई सबै पदबाट हटाइएको निर्णय गरिएको थियो। तर आयोगले उक्त निर्णय कानुनी प्रक्रिया अनुसार नआएको भन्दै अभिलेख अद्यावधिक गरेको छैन।
रास्वपाले आन्तरिक परामर्शपछि मात्रै धारणा सार्वजनिक गर्ने जनाएको छ। पार्टी प्रवक्ता मनिष झा भन्छन्, “हामी आन्तरिक छलफलमै छौं, के रहेछ भनेर बुझेपछि मात्रै प्रतिक्रिया दिनु उचित होला।”
निर्वाचन आयोगको पछिल्लो पत्रले पार्टीभित्र देखिएको विवादलाई नयाँ मोड दिएको छ। संस्थापन पक्ष ढकालको कारबाही मान्य गराउन प्रयासरत भए पनि कानुनी प्रक्रिया अधुरो हुँदा आयोगले पुरानै विवरणलाई आधिकारिक मानेको देखिन्छ। आयोगको यो अभिव्यक्तिले पार्टीको नेतृत्व संरचना र भविष्यको रणनीतिमा महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ।

















