८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा शनिबार बसेको केन्द्रीय समितिको बैठकका ६ बुँदे निर्णयहरू आइतबार सार्वजनिक गरेको छ। पार्टीले सुसंस्कृत राजनीतिको संवर्द्धन, विभाग प्रमुखहरूको नियुक्ति र सभापतिविरुद्धको हस्ताक्षर अभियानलाई तीव्रता दिनेलगायतका महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकका मुख्य निर्णयहरू:
१. सुसंस्कृत राजनीतिमा अडिग रहने: पार्टीले देशको वर्तमान राजनीतिक घटनाक्रमको समीक्षा गर्दै ‘भिजिट भिसा’ प्रकरणमा पार्टीले लिएको अडानप्रति संसदीय दललाई आभार व्यक्त गरेको छ। साथै, संसदमा लुटतन्त्रको खारेजी र सुसंस्कृत राजनीतिको संवर्द्धनका पक्षमा सशक्त रूपमा अडिग रहन संसदीय दललाई निर्देशन दिइएको छ।
२. सचिवालयका निर्णयहरू अनुमोदन: कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीद्वारा जेठ १९ र असार ५ गते बसेका पार्टी सचिवालयका सम्पूर्ण निर्णयहरूलाई केन्द्रीय समितिले पूर्णतः अनुमोदन गरेको छ।
३. विभाग प्रमुखमा नयाँ नियुक्ति: पार्टीका रिक्त रहेका तथा पुनः संयोजन आवश्यक पदहरूमा निम्नअनुसार मनोनयन गरिएको छ:
* प्रशिक्षण विभाग प्रमुख: सह-महामन्त्री विपिनकुमार आचार्य
* अभियान तथा प्रचारप्रसार विभाग प्रमुख: कार्यवाहक प्रवक्ता मनिष झा *
अनुसन्धान तथा अभिलेखीकरण विभागको कार्यवाहक प्रमुख: उप-प्रमुख रवि किरण अधिकारी
४. महामन्त्री र प्रवक्ताको नियुक्ति: पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको प्रस्तावमा कवीन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्ता नियुक्त गर्ने निर्णय गरिएको छ।
५. स्थापना दिवसको शुभकामना र आभार: तेस्रो स्थापना दिवसको अवसरमा पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टी सभापति रवि लामिछानेको तर्फबाट केन्द्रीय समिति, तहगत समिति, संयन्त्रहरू, सम्पूर्ण पार्टी सदस्य, शुभचिन्तक र आम नागरिकहरूलाई ऐक्यबद्धतापूर्वक साथ र समर्थन प्रदान गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले चुनौतीपूर्ण परिस्थितिमा साथ दिने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा देश निर्माणको महान् उद्देश्यमा निरन्तर साथ र सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो। साथै, पार्टी निर्माणको यात्रामा देखिएका आपसी गुनासाहरूलाई बिर्सेर एक ढिक्का भई अगाडि बढ्न सम्पूर्ण पार्टी पंक्तिलाई अनुरोध पनि गर्नुभयो।
६. हस्ताक्षर अभियानलाई निरन्तरता: पार्टी सभापति रवि लामिछानेविरुद्ध गरिएको राजनीतिक प्रतिशोध विरुद्धको हस्ताक्षर अभियानलाई जनतामाझ पुर्याउन देशैभर सशक्त रूपमा लैजाने निर्णय गरिएको छ। यस अभियानलाई आजकै दिनबाट देशैभर वार्षिकोत्सवका विभिन्न कार्यक्रमहरूसँगै लैजाने योजना छ।















