Logo

९ असार, काठमाडौं । वर्षायाम शुरू भएसँगै देशभर डेङ्गी संक्रमणको जोखिम तीव्र रूपमा बढ्दै गएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार रसुवा, मनाङ, हुम्ला र डोल्पाबाहेक अन्य ७३ जिल्लामा डेङ्गी संक्रमण पुष्टि भइसकेको छ।

महाशाखाको तथ्याङ्कअनुसार पछिल्लो ६ महिनामा देशभर १ हजार ४ सय भन्दा धेरैमा डेङ्गी संक्रमण देखिएको छ। सबैभन्दा बढी बागमती प्रदेशमा ३ सय ७१ जना, कोशीमा २ सय ९९, गण्डकीमा २ सय ५१, लुम्बिनीमा २ सय ४५, सुदूरपश्चिममा १ सय ८४, कर्णालीमा ३२ र मधेश प्रदेशमा २१ जनामा संक्रमण पुष्टि भएको हो।

डेङ्गीका मुख्य लक्षणहरूमा उच्च ज्वरो, टाउको, घाँटी र आँखा दुखाइ, हाडजोर्नी, मांसपेशी तथा ढाड दुख्ने समस्या देखिन्छ।

डाक्टरहरूका अनुसार ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिका लामखुट्टेले सफा र जमेको पानीमा फुल पार्छन्। ती फुलबाट निस्किने लार्भा वयस्क भएपछि मानिसलाई टोकेर डेङ्गी सार्छन् ।

यस्तो लामखुट्टे बिहान र साँझ घाम अस्ताउनु अघि बढी सक्रिय हुने भएकाले त्यतिबेला बढी सावधानी अपनाउन आवश्यक देखिएको चिकित्सकहरुको भनाई छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार घर वरपर जमेको पानी हटाउन, ट्यांकी, भाँडा, फूलदानी आदिमा पानी जम्न नदिनु तथा नियमित सरसफाइमा विशेष ध्यान दिनुपर्छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका पालिकाहरुलाई ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न पत्राचार गरिसकेको छ। जनस्वास्थ्य सुरक्षाका लागि सबै नागरिकलाई सचेत र सक्रिय हुन महाशाखाले आग्रह गरेको छ।


सम्बन्धित समाचार