९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आजको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ बहिष्कार गरेका छन्।
यसअघि सत्तापक्षका सांसदले बोल्दा मात्रै बाहिरिने गरेका रास्वपा सांसदहरू आज भने सभामुखले बैठक सुरु गरेलगत्तै आफ्नो भनाइ राखेर बाहिरिएका हुन्। रास्वपाका सांसदहरुले आज पनि नाराबाजी गरेका छन् । तर सभामुख देवराज घिमिरेले बैठक नियमित सन्चालन गरेका छन् । सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु आआफ्नो ठाउँबाट उठेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपाका सांसद शिव नेपालीलाई बोल्न समय दिए ।उनले सरकारले नै मानव तस्करीको र्याकेट चलाउनेलाई संरक्षण गरेको आरोप लगाए र गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसदमा विरोध जारी रहने जानकारी गराए ।
रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै जेठ १३ गतेदेखि निरन्तर संसद् अवरोध र बहिष्कार गर्दै आएको छ। गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएकाले उनको राजीनामा माग गरिएको हो।















