Logo

९ असार, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा मानव जीवनका लागि अक्सिजनसरह महत्त्वपूर्ण भइसकेको बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले ऊर्जाको निर्यात र सदुपयोग मात्रै नभई यसको आवश्यकता मानिसहरूलाई अक्सिजनको रूपमा महसुस हुन थालेको उल्लेख गरे।

मन्त्री खड्काले ऊर्जा केवल पूर्वाधारको विषय मात्रै नभएर समृद्ध राष्ट्रको मेरुदण्ड भएको स्पष्ट पारे। उनले दीर्घकालीन रूपमा विद्युतीय ऊर्जामा आत्मनिर्भरता हासिल गरी ऊर्जा सुरक्षाको सुनिश्चितता गर्नु सबैको कर्तव्य भएकोमा जोड दिए।

ऊर्जा उत्पादनको लक्ष्य र निर्यात योजना

खड्काले आगामी १० वर्षभित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए। यसमध्ये आन्तरिक प्रयोगका लागि १३ हजार ५०० मेगावाट र निर्यात प्रयोजनका लागि १५ हजार मेगावाट छुट्याइएको छ।

उनले भारतमा १० हजार मेगावाट र बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यातका लागि सम्झौता भइसकेको बताए। बंगलादेशको माग र नेपालको उत्पादन क्षमतालाई ध्यानमा राखेर कुल १५ हजार मेगावाट निर्यात गर्न सकिने अनुमान रहेको र सोही अनुसार काम भइरहेको उनले जानकारी दिए।

यस महत्त्वाकांक्षी लक्ष्य हासिल गर्न सरकारलाई कुल ९८.९ अर्ब डलर आवश्यक पर्ने मन्त्री खड्काले बताए।


सम्बन्धित समाचार