Logo

९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले इरानमाथि भएको अमेरिकी आक्रमणलाई विश्वयुद्ध निम्त्याउने दुष्प्रयासको संज्ञा दिएको छ। माओवादी केन्द्रका महासचिव देव गुरुङले इरानमाथि भएको हमलाको निन्दा गर्दै यसलाई गम्भीर युद्ध अपराध भनेका छन्।

माओवादी केन्द्रसहित विभिन्न वामपन्थी दल र नागरिक समाजसँग सम्बन्धित संस्थाहरूले संयुक्त वक्तव्य जारी गर्दै अमेरिकी साम्राज्यवादले आणविक हतियारको बहानामा इरानमाथि आक्रमण गरेको बताएका छन्। वक्तव्यमा भनिएको छ, “अमेरिकी आक्रमणबाट विश्वयुद्ध निम्त्याउने दुष्प्रयास गरेको देखिन्छ। यसबाट विश्वव्यापी युद्धआतंकको त्रास फैलिएको छ।”

इजरायलको भूमिका र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन

गत वर्ष इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा नरसंहार मच्चाएको घटना सेलाउन नपाउँदै अमेरिकी साम्राज्यवादको उक्साहटमा इजरायलले फेरि इरानमाथि आक्रमण गरेको उनीहरूको ठहर छ। यस कार्यले इरानको राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप मात्र नभई अन्तर्राष्ट्रिय कानुनको पनि गम्भीर उल्लंघन भएको वक्तव्यमा उल्लेख छ।

शान्ति र नेपालीको सुरक्षाको माग

संयुक्त वक्तव्यमार्फत अविलम्ब युद्धविराम गरी विश्वशान्ति कायम गर्न अपिल गरिएको छ। संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनहरूको आधारमा शान्तिपूर्ण ढंगले समस्याहरूको समाधान खोजिनुपर्नेमा जोड दिइएको छ। साथै, नेपाल सरकारसँग अमेरिकी र इजरायली आक्रमणको विरोध गर्न, स्वाधीन राष्ट्रहरूको पक्षमा उभिन र इजरायल तथा इरानमा रहेका नेपालीहरूको सुरक्षाका लागि अविलम्ब पहल गर्न जोडदार माग गरिएको छ।

वक्तव्यमा हस्ताक्षर गर्ने प्रमुख नेताहरूमास् माओवादी केन्द्रका महासचिव देव गुरुङ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य बलराम बाँस्कोटा लगायतका वामपन्थी नेता तथा बुद्धिजीवीहरू समावेश छन्। यो घटनाले मध्यपूर्वको भू-राजनीतिमा थप तनाव बढाउने संकेत गरेको छ।


सम्बन्धित समाचार
भर्खरै