Logo

९ असार, काठमाडौं ।  युद्धग्रस्त इरानमा रहेका १६ नेपाली नागरिकमध्ये ११ जना भोलिसम्म भारत आइपुग्ने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जानकारी दिएकी छन्। इरानको राजधानी तेहरानबाट मदस (Masad) शहरमा पुगेका उनीहरूलाई भारत सरकारले उद्धार गर्ने तयारी गरेको छ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री देउवाले बाँकी ५ जना नेपाली नागरिक इरानको जेलमा रहेको पनि जानकारी दिइन्। ती ५ जना गैरकानुनी रूपमा इरान प्रवेश गरेका कारण हिरासतमा परेका हुन्।

“१६ जना नागरिक इरानमा हुनुहुँदोरहेछ, भारत सरकारले नेपालीलाई पनि उद्धार गरेर ल्याइदिन्छु भनेको छ,” मन्त्री देउवाले भनिन्, “११ जना मसदमा आइपुग्नुभएको छ, सायद भोलि भारतमा आउनुहुन्छ। ५ जना जेलमा हुनुहुन्छ, उहाँहरूलाई पनि रेस्क्यु गरेर ल्याउन सकिन्छ कि भनेर प्रयास गरिरहेका छौं।”

मन्त्री देउवाले इरान–इजरायलबीचको हालको द्वन्द्वले सिर्जना गरेको जोखिमलाई सरकारले गम्भीरतापूर्वक लिएको स्पष्ट पारिन्। उनले इरान र इजरायलमा रहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रहसमेत गरेकी छन्।

त्यस्तै, संकटग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षाका लागि इजिप्ट, कतार र पाकिस्तानमा रहेका नेपाली राजदूतहरूसँग हरेक दिन बेलुका समन्वय र छलफल भइरहेको मन्त्री देउवाले जानकारी दिइन्। उद्धार आवश्यक परेमा कुन रणनीति अवलम्बन गर्ने भन्ने विषयमा नियमित तयारी भइरहेको उनले बताइन्।

सरकारले युद्धग्रस्त क्षेत्रबाट नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री देउवाले पुनः स्पष्ट पारिन्।


सम्बन्धित समाचार