Logo

९ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातावरण, पर्यटन र सुशासनलाई प्रमुख प्राथमिकतामा राख्दै महत्त्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। वीरगञ्ज नगरसभाको १७औं अधिवेशनमा नगर प्रमुख राजेशमान सिंहले प्रस्तुत गर्नुभएको यस नीति तथा कार्यक्रमले महानगरलाई सुन्दर, समुन्नत, समृद्ध र वैभव वीरगञ्जू को रूपमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ।

मुख्य प्राथमिकता र प्रमुख योजनाहरू

१. ऐतिहासिक र पर्यटकीय विकास

महानगरले अलौ पर्व संग्रहालय, घण्टाघर नजिकै बिपी उद्यान, पुरानो रेल्वे क्षेत्रमा रेल्वे म्युजियम र भिष्वा डाँडाको विकास गर्ने योजना अघि सारेको छ। वडा नं. १४ मा रहेको नृर्सिङ्ग मन्दिर र चिनिमिल पिपरामा रहेको ऐतिहासिक पशुपतिनाथ मन्दिरको पुनर्निर्माण र सौन्दर्यकरण गरिनेछ। भोजपुरी भाषा र संस्कृतिको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय भोजपुरी सम्मेलन आयोजना गरिनेछ भने नेपाल–भारत मितेरी पुलको प्रवेशद्वारमा पर्यटन सूचना केन्द्र र एकीकृत सवारी जाँच केन्द्र (ICP) स्थापना गरिनेछ। वडा नं. १७ र १९ को तिलावे नदी किनारमा आधुनिक ताल (लेक) र पर्यटकीय पूर्वाधार विकास गरिने पनि नीतिमा उल्लेख छ।

२. स्वास्थ्य क्षेत्रमा सुधार

स्वास्थ्यतर्फ, वडा नं. २८ मा रहेको बगही अस्पताललाई ‘महानगर नमुना अस्पताल’ को रूपमा स्तरोन्नति गरिनेछ। वडा नं. १५ र १७ मा निर्माण सम्पन्न १६ शैया क्षमताको अस्पताल यसै आर्थिक वर्षदेखि सञ्चालनमा ल्याइनेछ। वडा नं. १८, १९, २० र ३० मा बर्थिङ सेन्टर तथा वडा नं. २३ मा सहुलियत दरको ल्याब सेवा सञ्चालन गरिनेछ। वडा नं. १६ इनर्वामा बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल सार्वजनिक-निजी साझेदारी (PPP) मोडेल अन्तर्गत निर्माण अगाडि बढाइनेछ। सुलभ दरमा औषधि उपलब्ध गराउन ‘महानगर फार्मेसी’ र प्रदूषणरहित चुल्हो वितरण जस्ता कार्यक्रम पनि समावेश छन्।

३. शिक्षा र प्रविधि

शिक्षामा सुधारका लागि सबै सामुदायिक विद्यालयहरूमा ‘एक विद्यालय, एक स्मार्ट कक्षा’, आधारभूत तहका विद्यालयमा ‘एक विद्यालय, एक ल्यापटप र एक प्रिन्टर’ कार्यक्रम लागू गरिनेछ। सामुदायिक विद्यालयहरूमा स्थानीय भाषा, संस्कृति र जीवनशैली समेटिएको स्थानीय पाठ्यक्रम लागू गरिनेछ। ऐतिहासिक अलख पुस्तकालयको पुनः सञ्चालन र महानगर पुस्तकालयलाई आधुनिकीकरण गरी डिजिटल पहुँचयुक्त बनाउने योजना छ। बहिरा, दृष्टिविहिन र सुस्तमनस्थितिका बालबालिकाका लागि विशेष विद्यालय स्थापना गरिनेछ।

४. वातावरण र सरसफाइ

वातावरणमैत्री ‘हरित महानगर’ निर्माणका लागि व्यापक वृक्षरोपण अभियान चलाइनेछ। चापाकल सुकेका क्षेत्रमा पाइपलाइन विस्तार र डिप बोरिङ जडान गरी शुद्ध खानेपानीको व्यवस्था गरिनेछ। वायु प्रदूषण र पूर्वाधार क्षति नियन्त्रणका लागि प्रदूषण जाँच केन्द्र तथा भारवहन जाँच केन्द्र स्थापना गरिनेछ। ‘स्वच्छ वीरगञ्ज’ अभियानलाई निरन्तरता दिइने र फोहोरबाट मोहर बनाउने वातावरणमैत्री व्यवसायलाई प्रोत्साहन गरिनेछ।

५. पूर्वाधार र सहरी विकास

वडा नं. १३ र १४ को परवानीपुर क्षेत्रमा एकीकृत ट्रान्सपोर्ट नगरी’ निर्माण गरिनेछ। त्रिभुवन राजपथ अन्तर्गतको मुख्य सडक क्षेत्रको भौतिक पूर्वाधार व्यवस्थित गर्दै अतिक्रमण हटाउने कार्य गरिनेछ। ढलानको सट्टा पेभर्स ब्लक प्रयोगलाई प्राथमिकता दिइने र पुरानो बसपार्कलाई व्यापार, पार्किङ, हरियाली वा बहुकार्ययुक्त भवन निर्माणजस्ता आधुनिक पूर्वाधार विकासका लागि उपयोग गरिनेछ। वीरगञ्जका सम्पूर्ण भवनमा डिजिटल घर नम्बर प्रणाली लागू गरिनेछ भने भवन नक्सा स्वीकृति प्रक्रियालाई पारदर्शी बनाउन EBPS प्रणाली लागू गरिनेछ।

६. सुशासन र आर्थिक विकास

सेवा प्रवाह, जनशक्ति परिचालन र कार्यालय सञ्चालनमा डिजिटल मनिटरिङको व्यवस्था गरिनेछ। योगदानमा आधारित सामाजिक सुरक्षा कोष स्थापना र कार्यान्वयन गरिनेछ। विकास योजनाहरूको गुणस्तर कार्यान्वयन सुनिश्चित गर्न नियमित र पारदर्शी अनुगमन प्रणाली लागू गरिनेछ। आन्तरिक राजस्व संकलन, दस्तुर व्यवस्थापन र करदाताको विवरण अद्यावधिक गर्न पूर्ण रूपमा पेपरलेस डिजिटल सफ्टवेयर प्रणाली लागू गरिनेछ। तीनपाङ्ग्रे सवारी साधनहरूको सञ्चालन, पार्किङ र रुट व्यवस्थापनलाई कडाइका साथ कार्यान्वयन गरिनेछ भने महिला उद्यमीका लागि विशेष इन्क्युवेशन सेन्टर स्थापना गरिनेछ।

७. कृषि र पशुपालन

वडा नं. १६ मा निर्माण सम्पन्न कृषि बजारलाई यसै आर्थिक वर्षदेखि सञ्चालनमा ल्याइनेछ। सार्वजनिक पोखरीहरूलाई व्यावसायिक रूपमा माछापालनमा उपयोग गरिनेछ। चौपाया आहार व्यवस्थापन, प्रजनन सुधार, बाख्रा पकेट कार्यक्रम, माछापालन र कुखुरापालनलाई प्रोत्साहन गरिनेछ।

८. विपद् व्यवस्थापन र सुरक्षा

बाढी, आगलागी, भूकम्प, महामारीजस्ता विपद्का लागि आवश्यक सामग्रीहरूको खरिद, भण्डारण र व्यवस्थापन गरिनेछ। व्यावसायिक प्रयोजनका भवनहरूमा Fire Extinguisher जडान अनिवार्य गरिनेछ।

९. सामाजिक न्याय र समावेशीकरण

घरेलु हिंसाबाट पीडित महिला, असुरक्षित बालबालिका, अपांगता भएका व्यक्ति र लैङ्गिक अल्पसंख्यकका लागि सेफ हाउस स्थापना र सञ्चालन गरिनेछ। बालश्रम र बालविवाह अन्त्यका लागि नीतिगत, सामाजिक र कानुनी उपायहरू अपनाइनेछ। वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन SaMi कार्यक्रमलाई निरन्तरता दिइनेछ भने जन्म, मृत्यु, विवाह लगायतका व्यक्तिगत घटनाको दर्ता प्रणालीलाई डिजिटल गरिनेछ।

नगर प्रमुख राजेशमान सिंहले यी नीति तथा कार्यक्रमहरूको सफल कार्यान्वयनका लागि सबैको सहयोग र सद्भावको अपेक्षा व्यक्त गरेका छन्।


सम्बन्धित समाचार