१० असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठनको माग गर्दै संसद् बहिष्कारलाई निरन्तरता दिने निर्णय गरेको छ।
पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आन्तरिक छलफलपछि यस्तो निर्णय भएको जानकारी दिएका छन्। शाहीका अनुसार, सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा सोमबार साँझ गठन गरेको उच्चस्तरीय छानबिन समितिले भिजिट भिसा प्रकरणमा प्रभावकारी काम गर्न नसक्ने निष्कर्षमा राप्रपा पुगेको छ। हामी सुरुमा सदनमा आफ्नो कुरा राख्छौं र त्यसपछि संसद्को कामकारबाही बहिष्कार गर्छौं, शाहीले भने।
भिजिट भिसा प्रकरणलाई लिएर राप्रपाले केही समयदेखि संसद्को कामकारबाही अवरुद्ध गर्दै आएको छ। राप्रपाको अवरोधका बाबजुद पनि सरकारले बजेटमाथिको छलफललाई भने अगाडि बढाउँदै आएको छ। राप्रपाले यस प्रकरणको सत्यतथ्य पत्ता लगाउन र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय न्यायिक आयोग नै गठन गरिनुपर्ने अडान राखेको छ।















