Logo

१० असार, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणको छानबिनका लागि गठित शंकरदास बैरागी नेतृत्वको समिति अस्वीकार्य रहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा सभामुखले दिएको समयमा बोल्दै उनले बैरागी “निगाह प्राप्त नेताहरू” को निकट भएकाले निष्पक्ष छानबिन गर्न नसक्ने जिकिर गरे।

“स्वार्थको द्वन्द्वबाट जेलिएका पात्र”
वाग्लेले बैरागीमाथि टिप्पणी गर्दै भने, “शंकरदास बैरागी अहिलेका नेताहरूको ‘गुड बुक’ मा पर्नुपर्ने पात्र हुन्। उहाँ स्वार्थको द्वन्द्वबाट ग्रसित हुनुहुन्छ। यस्तो अवस्थामा उहाँले निष्पक्ष छानबिन गर्न सक्नुहुन्न भन्ने हाम्रो पार्टीको स्पष्ट मत हो।”

गृहमन्त्रीमाथि पनि उठाइयो प्रश्न
सांसद वाग्लेले गृहमन्त्री रमेश लेखकमाथि पनि शंका व्यक्त गर्दै भिजिट भिसा काण्डमा लेखकको परोक्ष संलग्नता र प्रत्यक्ष संरक्षण देखिएको बताए। उनले भने, “यहाँ गृहमन्त्री स्वयम् सन्देहको घेरामा हुनुहुन्छ। परोक्ष संलग्नता देखिसकेको छ, प्रत्यक्ष संरक्षण देखिसकेको छ। अब के आरोपीले आफैँ अनुसन्धान अधिकृत छान्ने हो?”

गृहमन्त्रीको बचाउ
संसदमा वाग्लेको टिप्पणीभन्दा अघि गृहमन्त्री लेखकले बैठकलाई सम्बोधन गर्दै भिजिट भिसा प्रकरणको छानबिनका लागि शंकरदास बैरागीको नेतृत्वमा समिति गठन गर्नुपर्ने प्रस्ताव आफैले मन्त्रिपरिषद्मा प्रस्तुत गरेको स्पष्ट पारेका थिए।

सांसद वाग्लेले भने, गम्भीर प्रकृतिको यो प्रकरणमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन आवश्यक छ, जसमा प्रत्यक्ष सरोकारवालाहरूको भूमिकामाथि समेत कठोर समीक्षा हुनुपर्छ।


सम्बन्धित समाचार