Logo

१० असार,वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाले ५९ करोड ३१ लाख ५८ हजार ३०३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार सम्पन्न १५ औँ गाउँसभामा आर्थिक वर्ष २०८२/८३ का लागि कूल ५९ करोड ३१ लाख ५८ हजार ३०३ रुपैयाँको बजेट सार्वजनिक गरिएको हो । गाउँपालिका अध्यक्ष यसवन्त यादवको अध्यक्षतामा सम्पन्न यस महत्वपूर्ण अधिवेशनमा उपाध्यक्ष शर्मिला बिस्ट महतोले आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । उनले गुणस्तरीय शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई बजेटको मुख्य प्राथमिकतामा राखिएको गाउँसभामा जानकारी दिइन् ।

गाउँपालिका अध्यक्ष यादवले आगामी वर्षका प्रमुख कार्यक्रमहरू घोषणा गर्दै ‘एक गाउँ, एक उद्यम’ कार्यक्रमलाई उच्च प्राथमिकता दिइने बताए । शिक्षा क्षेत्रमा विद्यालयहरूको अनुगमन गरी आवश्यक पूर्वाधार विकास गर्ने र प्राविधिक शिक्षामा जोड दिने योजना रहेको उनले बताए । स्वास्थ्य सेवामा सुधार ल्याउन आधारभूत अस्पताललाई व्यवस्थित गर्दै ‘स्वास्थ्य बीमा’लाई प्रोत्साहन गरिने घोषणा गरिएको छ ।

कृषि क्षेत्रको विकासका लागि पनि गाउँपालिकाले ठोस योजनाहरू अगाडि सारेको छ। कृषि सिँचाइका लागि ट्रान्सफार्मर र पोलको व्यवस्था, कृषि उपजको बजार विस्तार, कोल्ड स्टोर स्थापनासहित आधुनिक कृषि बजार विकास, ‘एक घर, एक रुख’, पशु बीमा र अर्गानिक खेती प्रवद्र्धन जस्ता कार्यक्रमहरू प्राथमिकतामा राखिएको छ । भौतिक पूर्वाधारतर्फ कालोपत्रे सडक विस्तारमा विशेष जोड दिइने बजेटमा उल्लेख छ ।

गाउँ सभा बोल्ने क्रममा अध्यक्ष यादवले संघीयताको मर्ममाथि प्रहार गर्ने र प्रदेश खारेजको निर्णय गर्ने तथा संघीयता विरोधी पालिकालाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन्। उनले आफ्नो गाउँका लागि आवश्यक योजनाहरू आफैँले गाउँ सभा गरी तय गरिरहेको उल्लेख गर्दै यसैलाई लोकतन्त्रको सुन्दर पक्षको रूपमा व्याख्या गरे। समयमा नीति तथा कार्यक्रमहरू नआएमा पालिका असफल हुने भन्दै उनले संविधानअनुसार समयमै आफ्नो जिम्मेवारी पूरा गर्न सबैलाई आग्रहसमेत गरे।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यशवन्त यादव, उपाध्यक्ष शर्मिला बिष्ट, वडा अध्यक्षहरू, गाउँ कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद कुशवाहा, वडा सदस्यहरू, पालिकाका कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार