Logo

११ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बयान विशेष अदालतमा सकिएको छ। पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा नेपालले आज आफैँ विशेष अदालतमा उपस्थित भई बयान दिनुभएको हो।

बयान सकिएपछि अहिले खाजाको समय रहेको र दिउँसो ३ बजेबाट थुनछेक बहस सुरु हुने बताइएको छ।

बहसमा वकिलहरूको बाक्लो उपस्थिति

यस मुद्दाको बहसमा दुवै पक्षबाट ठूलो संख्यामा कानुन व्यवसायीहरू उपस्थित हुने भएका छन्। मुद्दा अभियोजन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट विशेष सरकारी वकिलको कार्यालयका प्रमुख मोहन सागर बस्यालसहित सरकारी वकिलको टोलीले बहस गर्नेछ। यसका साथै, अख्तियारले वरिष्ठ अधिवक्ता सुशील पन्तलाई पनि वकालतनामा गराएको छ। अख्तियारले भ्रष्टाचार मुद्दामा बिरलै स्वतन्त्र कानुन व्यवसायीहरूलाई ‘हायर’ गर्ने गर्छ, जसले यो मुद्दाको संवेदनशीलतालाई थप उजागर गरेको छ।

माधव नेपालको पक्षमास् पूर्वप्रधानमन्त्री नेपालको बचाउमा करिब सय जनाभन्दा बढी कानुन व्यवसायीहरूले वकालतनामा भरेका छन्। बयान सुरु हुनुअघि नै नेपालले वकालतनामा फारममा हस्ताक्षर गरेर राखिदिएको र अहिले पनि कानुन व्यवसायीहरू थपिने क्रम जारी रहेको अधिवक्ता परिवर्तन राईले जानकारी दिनुभयो। वकालतनामा भर्ने वरिष्ठ अधिवक्ताहरूमा कृष्णप्रसाद भण्डारी, शम्भु थापा, गोविन्द बन्दी (पूर्वकानुन मन्त्री), रमणकुमार श्रेष्ठ, सविता भण्डारी, टिकाराम भट्टराई, बाबुराम दाहाल, डा। चन्द्रकान्त ज्ञवाली, हर्कबहादुर रावल, खम्मबहादुर खाती, प्रेमबहादुर खड्का, ललित बस्नेत, एकराज भण्डारी, नारायणप्रसाद देवकोटा, विश्वकान्त मैनाली, सुरेन्द्र थापा र खगेन्द्र अधिकारी लगायतका ख्यातिप्राप्त कानुन व्यवसायीहरू हुनुहुन्छ।

यद्यपि, सीमित समयमा संक्षिप्त बहस गर्नुपर्ने भएकाले दुवैतर्फबाट छानिएका सीमित कानुन व्यवसायीले मात्रै आजको थुनछेक बहसमा भाग लिन पाउनेछन्। यस प्रकरणलाई नेपालको राजनीतिक तथा कानुनी वृत्तमा गम्भीरताका साथ हेरिएको छ।


सम्बन्धित समाचार