Logo

२४ असार, काठमाडौं । सर्वोच्च अदालतमा हिजो नियुक्त भएका तीन जना नयाँ न्यायाधीशहरूले मंगलबारदेखि मुद्दाको सुनुवाइ सुरु गरेका छन् ।

श्रीकान्त पौडेल, शान्तिसिंह थापा र मेघराज पोखरेलले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतबाट शपथ लिएपछि आजैबाट आफ्नो कार्यभार सम्हालेका हुन् ।

नवनियुक्त न्यायाधीशहरूले आज कार्यभार सम्हाल्दै मुद्दा पेसीको गोलाप्रथामा भाग लिए। मंगलबारका लागि सर्वोच्चमा एक पूर्णसहित कुल १० वटा इजलास र २९४ वटा मुद्दाको पेसी तोकिएको छ। तीनवटै नयाँ न्यायाधीशहरूले आज संयुक्त इजलासमा सुनुवाइ गर्दैछन् ।

श्रीकान्त पौडेलले न्यायाधीश मनोजकुमार शर्मासहितको चार नम्बर इजलासमा २४ वटा मुद्दा हेर्दैछन् । शान्तिसिंह थापाले न्यायाधीश कुमार चुडालसहितको पाँच नम्बर इजलासमा ३० वटा मुद्दाको सुनुवाइ गर्दैछन् भने मेघराज पोखरेलले न्यायाधीश विनोद शर्मासहितको आठ नम्बर इजलासमा २८ वटा मुद्दाको सुनुवाइ गर्दैछन् ।


सम्बन्धित समाचार