Logo

२५ असार, काठमाडौं । सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’लाई संसदको कार्यसूचीमा राखेकोमा तीव्र असन्तुष्टि व्यक्त गरेको छ।

कांग्रेसले विधेयकमाथि थप छलफल आवश्यक रहेको भन्दै यसलाई पुनः समितिमा पठाउन वा कार्यसूचीबाट हटाउन दबाब बढाएको छ।

कांग्रेस नेताहरूको अडान

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भूमि विधेयकमा पर्याप्त छलफल आवश्यक रहेको भन्दै आजको कार्यसूचीबाट हट्ने दाबी गरेका छन्। उनले विधेयकलाई जबरजस्ती पारित गर्न खोजिए मान्य नहुने चेतावनीसमेत दिएका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार, तथा सांसदहरू दिलेन्द्रप्रसाद बडु, सञ्जय गौतम, राजन केसी लगायत १२ जना कांग्रेस सांसदहरूले विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका कांग्रेस सांसद रामहरि खतिवडाले पनि विधेयक कार्यसूचीबाट हट्नैपर्नेमा जोड दिएका छन् ।
महामन्त्री विश्वप्रकाश शर्माले पर्याप्त गृहकार्यबिना नै विधेयक सोझै पारित गर्ने गरी संसदमा प्रस्तुत हुन लागेकोमा आपत्ति जनाएका छन् । उनले विधेयकमाथि पूर्व सहमति खोज्न वा थप छलफलका लागि समितिमै पठाउन सकिने विकल्प सुझाएका छन् ।

आजको संसद बैठकको कार्यसूची

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ लाई दफावार छलफलका लागि प्रस्तुत गर्ने र प्राप्त संशोधनहरू निणयार्थ प्रस्तुत गरी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

कांग्रेसको यो अडानले आजको संसद बैठकमा भूमि विधेयकमाथिको छलफल र यसको भविष्यबारे थप अन्योल सिर्जना गरेको छ।


सम्बन्धित समाचार