Logo

२५ असार,वीरगञ्ज । जलवायु परिवर्तनका कारण उत्पन्न खडेरीले तराई–मधेस क्षेत्रमा खानेपानीको गम्भीर अभाव सिर्जना गरेको छ। विशेषगरी पर्सा, बारा र रौतहट जिल्लाहरूमा अधिकांश चापाकल सुकेका कारण जनजीवन अत्यन्त कठिन बनेको छ। यसै सन्दर्भमा खानेपानीमन्त्री प्रदीप यादव आज आफ्नो गृहजिल्ला वीरगञ्ज पुगेर खानेपानी अभावको स्थलगत अवलोकन गरेका छन्।

मन्त्री यादवले यस प्राकृतिक विपत्तिबाट पीडित नागरिकहरूप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै वीरगञ्जवासीको खानेपानी समस्या समाधानका लागि आफू स्वयं वीरगञ्ज महानगरपालिकाका विभिन्न प्रभावित क्षेत्र, वडाहरू, टोल तथा घर–घरमा पुगेर स्थलगत निरीक्षण गरेको बताएका छन्।

उनले बारा र पर्साका जिल्लाहरूमा २३७ भन्दा बढी स्थानमा डिप बोरिङ सम्पन्न भए पनि पानीको समस्या पूर्ण रूपमा समाधान हुन नसकेको स्वीकार गरे। “तराई मधेससहित वीरगञ्ज महानगरपालिका क्षेत्रमा उत्पन्न भएको खानेपानीको समस्या समाधानका लागि हामी लागिपरेका छौँ,“ मन्त्री यादवले भने।

यस संकट समाधानका लागि मन्त्री यादवले प्रदेश र स्थानीय सरकार, तथा खानेपानी तथा सरसफाइ क्षेत्रमा संलग्न सम्पूर्ण राष्ट्रिय एवं अन्तर्राष्ट्रिय निकायहरूलाई आपसी सहकार्य र सहयोगका लागि हार्दिक अनुरोध गरेका छन्। उनले सबैको एकताबद्ध प्रयास र समन्वयबाट मात्र यस विपद्मा पार पाउन सकिनेमा पूर्ण विश्वास व्यक्त गरेका छन्।

खानेपानीको चरम अभावले गर्दा स्थानीय बासिन्दाले दैनिक जीवनयापनमा ठूलो चुनौती भोगिरहेका छन्। तत्काल दीर्घकालीन समाधानको खोजीमा सरकार र सम्बन्धित निकायहरूको समन्वय अपरिहार्य देखिएको छ।


सम्बन्धित समाचार