Logo

२५ असार,वीरगञ्ज ।  जनकपुरधाम उपमहानगरपालिका–१५ का ६५ वर्षीय वासुदेवप्रसाद साहको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा उनका ज्वाइँ ५५ वर्षीय बेचन महासेठलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पारिवारिक झगडाका कारण साहको हत्या भएको खुलेको छ। गत असार १८ गते बेचन महासेठले आफ्नै ससुरा वासुदेवप्रसाद साहको पेटमा चक्कु प्रहार गरी हत्या गरेर फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीका अनुसार जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष टोलीले महासेठलाई जनकनन्दनी गाउँपालिकास्थित खजुरी रेल्वे स्टेशनबाट नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको स्टिलको चक्कु र अभियुक्तले प्रयोग गरेको मधेस प्रदेश ०२–००७ प. ९९३२ नम्बरको रातो–कालो रङको होन्डा स्कुटरसमेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार