२५ असार,वीरगञ्ज । बाराको कलैयादेखि वीरगञ्ज हुँदै बारा–रौतहटका ग्रामीण भेगसम्म चल्ने सार्वजनिक यातायात सेवा अनिश्चितकालका लागि ठप्प भएको छ। बारा यातायात, पुरानो नारायणी यातायात र बारा गढीमाई यातायातले संयुक्त रूपमा मंगलबारदेखि यातायात बन्दको घोषणा गरेका हुन्।
यातायात व्यवसायीहरूले सार्वजनिक सवारी सञ्चालनमा स्थानीय सरकार, ट्राफिक प्रहरी र प्रशासनको चरम लापरबाही र अव्यवस्था रहेको आरोप लगाएका छन्। उनीहरूले १० बुँदे ध्यानाकर्षणपत्र सार्वजनिक गर्दै तत्काल आफ्ना माग पूरा नभए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन्।
आन्दोलनका संयोजक रामजी पटेलका अनुसार अव्यवस्थित पार्किङ, स्पष्ट पिक एन्ड ड्रप व्यवस्था नहुनु, बसपार्कको पूर्ण सञ्चालनमा नगरपालिकाको चासो नहुनु र सम्बन्धित निकायहरूसँग पटकपटक छलफल गर्दा पनि समस्या समाधान नहुनुजस्ता कारणले आन्दोलन गर्नुपरेको हो।
ध्यानाकर्षणपत्रमा अवैध सवारी सञ्चालनको विषयलाई पनि प्रमुखताका साथ उठाइएको छ। व्यवसायीहरूले क्षमताभन्दा बढी यात्रु बोक्ने, चालक अनुमतिपत्र नलिई सवारी चलाउने र मोडिफाई गरिएका सवारीलाई ट्राफिक प्रहरीले नरोकेको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले यस्ता सवारीसाधन तत्काल नियन्त्रण गर्न र सबैका लागि ट्राफिक नियम समान रूपमा लागू गर्न माग गरेका छन्।
यसैगरी, आधारभूत पूर्वाधार नहुँदै कर थोपारिएकोप्रति पनि व्यवसायीको असन्तुष्टि छ। “हामी बसपार्कबाट सेवा दिन तयार छौँ, तर बसपार्ककै न्यूनतम सुविधा पनि छैन। यस्तो अवस्थामा कर लगाइनु अन्याय हो,“ व्यवसायीहरू भन्छन्।
सार्वजनिक यातायात बन्द हुँदा यात्रुहरू मर्कामा परेका छन्। ग्रामीण क्षेत्रबाट कलैया, वीरगन्ज तथा अस्पताल, विद्यालय, कार्यालय जानुपर्ने नागरिकहरू विकल्पविहीन भएका छन्। यद्यपि, कलैया उपमहानगरपालिकाले समस्याको समाधानका लागि पहल भइरहेको जनाएको छ। तर, व्यवसायीहरूले तत्काल प्रत्यक्ष पहल नदेखिए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन्।














